झलनाथ खनालको सर्प पाल्ने कार्यक्रममा १७ करोड भ्रष्टाचार, पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा

झलनाथ खनालको सर्प पाल्ने कार्यक्रममा १७ करोड भ्रष्टाचार, पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा


काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको रकम हिनामिना गरेको अभियोगमा मधेश प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्रीसहित ७ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालीन प्रदेशमन्त्री विजय कुमार, आर्थिक मामिला सचिव प्रेमकुमार श्रेष्ठ, लालबन्दी नगरपालिकाकाका तत्कालीन नगरप्रमुख मानबहादुर खड्का तथा खनाल प्रतिष्ठानका अध्यक्ष, महासचिव, कोषाध्यक्ष र सदस्य गरी सात जनाविरुद्ध १७ करोड ९८ लाख ३३ हजार बिगो कायम गरेर मुद्दा दायर गरेको हो ।

सर्लाहीको लालबन्दी नगरपालिकामा झलनाथ खनाल स्वास्थ्य प्रतिष्ठान नेपालको सहकार्यमा एन्टिभेनम उत्पादन तथा अनुसन्धान केन्द्र नेपाल स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने कार्यमा अनियमितता गरेको भन्ने उजुरीका आधारमा अख्यितारले अनुसन्धान गरेको थियो ।

अख्तियारका प्रवक्ता भोला दाहालले सो उजुरीमा अनुसन्धान हुँदा १७ करोड ९८ लाख ३३ हजार बराबरको सरकारी सार्वजनिक सम्पत्ति हानिनोक्सानी, दुरुपयोग गरेको पुष्टि हुन आएको बताए ।

उनका अनुसार १७ करोड ९८ लाख ३३ हजार बिगोसहित आरोपपत्र दायर गरिएको हो । तत्कालीन मन्त्री विजय कुमारलाई भ्रष्टाचार निवारण एने २०५९ को दफा २४ बमोजिम थप कदै सजाय समेत हुन मागदावी गरिएको अख्तियारले जनाएको छ ।