लगातार १० दिनदेखि श्रमदानमा जनप्रतिनिधि, भन्छन्-‘दसैँ अघि विजुलीको तार फेरेर सक्छौ’ 

लगातार १० दिनदेखि श्रमदानमा जनप्रतिनिधि, भन्छन्-‘दसैँ अघि विजुलीको तार फेरेर सक्छौ’ 


रामेछाप ।

बिजुलीको पोल र तारमा झुण्डिएको लगातार १० दिन भयो तर पनि थाकेका छैनन्, गलेका छैनन्, उत्तिकै ऊर्जा छ ।

रामेछापको लिखु तामाकोसी गाउँपालिका–२ सैपुका वडाध्यक्ष सन्तोष पौडेल लगायतका जनप्रतिनिधि र सामाजिक अगुवाको दैनिकी १० दिनदेखि एकनास छ । बिहान उज्यालो हुने बित्तिकै बिजुलीको पोलमा पुग्यो, साँझसम्म बिजुलीको पोल र तारमा झुण्डियो । बेलुका लखतरान भएर घर फर्कियो, बिहान उठेर फेरी उही काम ।

सो वडामा यस अघि मेन लाइनमा टाँगिएको नाङ्गो तारले रुखमा छुँदा बारम्बार बत्ती जाने र मानिसलाई समेत जोखिम भएपछि वडाध्यक्ष सन्तोष पौडेलले प्लास्टिक कोटेड कालो तार फेरिदिन नेपाल विद्युत् प्राधिकरण मन्थलीलाई अनुरोध गरे । विद्युत् कार्यालयले तार त दिने भयो तर गाउँसम्म तार ढुवानी गर्ने तथा तार तन्नको लागि आवश्यक जनशक्ति नभएको बतायो ।

वडाध्यक्ष पौडेलले हिम्मत गरे । तार ढुवानीको लागि यातायात साधनको भाडा वडा कार्यालयले तिर्ने बाँकी काम जनश्रम जुटाएर गर्ने निधो गरे । ‘प्राधिकरण तार र पोलमा तार बाँध्ने प्राविधिक दिन तयार भयो, बाँकी सबै काम हामी नै गर्छौँ भनेर आफैँ गएर तार लोड गरेर ल्याएँ’, पौडेलले भने ।

विगतमा सडक मर्मतमा जनसहभागिता जुटेको कारण उत्साहित भएका पौडेलले गाउँमा तार झरेपछि तार तान्न जनश्रमको लागि गाउँले गुहारे । गाउँले पनि सहयोग गरे । जनप्रतिनिधिहरू लगातार १० दिनदेखि खटिरहेका छन् । जुन टोलमा तार तान्नु पर्ने हो त्यो टोलका गाउँलेहरू निस्किन्छ र तार तान्न श्रमदान गर्दछन् । गाउँमा नयाँ श्रम संस्कृति नै विकास भएको छ । ‘हामी काम गर्छौँ, अरू कुरा गर्छन्, फरक यही हो, लगातार १० दिनसम्म पनि पवित्र सामाजिक काममा श्रमदानले निरन्तरता पाएको छ’ , उनले भने ।

सैपुको माथिल्लो भेग दिलौरीबाट तल्लो भेग फेदीसम्म १६ किलोमिटर तार फेर्ने कार्य सकिएको उनले बताए । अब सोे वडाको बाँकी रहेको मेन लाइनको कालो तार पनि थप ६ किलोमिटर झरेकोले सम्भावना भएसम्म दसैँ अगाडि नै, नभए पनि दसैँ पछाडि फेदीदेखि सिसन्धु सम्मको लाइन पनि फेरिने उनले बताए ।

दसैँ नजिकिँदै गरेकोले वडामा भएका सडक मर्मत गर्न पनि श्रमदान नै जुटाएर गर्नुपर्ने भएकोले त्यता पनि लाग्नु पर्ने उनले बताए । ‘जनताको सेवा गर्न भनेर आएको हाम्रो टिम सदैव जनताको सेवामा हुनेछ, नागरिकले पनि श्रमदान गरेर ठुलो सहयोग गर्नुभएको छ’, पौडेलले भने ।