सुर्खेत ।
नेकपा एमालेका जुम्ला जिल्ला कमिटी उपाध्यक्ष सुरतबहादुर शाहीमाथि बालयौन दुर्व्यवहारको आरोप लागेको छ ।
शाहीले तातोपानीकी एक किशोरीलाई यौन प्रस्ताव गरेको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
अडियोमा उनले किशोरीलाई फकाएको र प्रलोभनमा पारेको सुनिन्छ । उक्त विषय यतिबेला प्रहरी समक्ष पुगेको छ ।
शाहीविरुद्ध १७ वर्षीय किशोरीमाथि यौन दुर्व्यवहारको आरोपमा जाहेरी दर्ता भएको जुम्ला प्रहरीले जनाएको छ ।
मंगलबार दर्ता भएको जाहेरीका आधारमा बालबालिका विरुद्धको कसुरमा प्रहरीले आवश्यक कारबाही प्रारम्भ गरेको छ । पीडित किशोरीका बुबाले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ बमोजिम जाहेरी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दका अनुसार उक्त विषयबारे थप अनुसन्धान भइरहेको छ ।
भाइरल अडियोमा शाहीले किशोरीलाई प्रवेश परीक्षामा नाम निकालिदिने, पढाइदिने, ट्युसन खर्च आफैँ बेहोरिदिने र बदलामा समवेदनशील अङ्गको फोटो पठाउनुपर्ने र यौन सम्बन्ध राख्न दिनुपर्ने लगायतका कुरा गरेको सुनिन्छ ।
प्रतिक्रिया