आजदेखि एकान्तकुना यातायात कार्यालयमा लाइन बस्न पर्दैन, सबै काम अनलाइनबाटै

आजदेखि एकान्तकुना यातायात कार्यालयमा लाइन बस्न पर्दैन, सबै काम अनलाइनबाटै


काठमाडौं ।

सर्वाधिक भीड हुने यातायात ब्यवस्था कार्यालय एकान्तकुनाले विहीबारदेखि अनलाइन सेवा सुभारम्भ गरेको छ ।

अनलाईन सेवा सुरु भएपछि सर्वाधिक भीड हुने ललितपुरको एकान्तकुनामा सेवाग्राहीको भीड हटेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र बाग्मति प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले विहीबार एकान्तकुना यातायात ब्यवस्था कार्यालयमा अनलाइन सेवा शुरु गरेका हुन् । दैनिक हजारौ सेवाग्राही एकान्तकुना कार्यालयमा लाइन बस्ने गरेका थिए । ‘आजदेखि त्यो लाइन पूर्णरुपमा हट्नेछ’, मन्त्री ज्वालाले भने ‘दैनिक हजारौ सेवाग्राहीले पाउँदै आएको सास्ती आजदेखि हटेको छ ।’

नयाँ सवारी चालक अनुमतिको आवेदन गर्न यसअघि नै अनलाइन सेवा सञ्चालनमा थियो । तर विहीबारदेखि राजश्व भूक्तानी, लाइसेन्स नविकरण र बर्ग थप अनलाइनबाटै हुने भएको छ । ‘सवारी चालक अनुमति पत्रका लागि अब तीन पटक मात्र यातायात ब्यवस्था कार्यालयमा जानुुपर्ने छ’, प्रदेशका यातायातमन्त्री लम्सालले भने ‘यसअघि एउटै लाइसेन्सका लागि ९ पटक यातायात ब्यवस्था कार्यालयमा धाउनुपर्ने बाध्यता थियो ।’

सवारी चालक अनुमति पत्रका लागि अब लिखित परीक्षा, ट्राइल परीक्षा र बायोमेट्रिक गर्न तीन पटक मात्र यातायात ब्यवस्था कार्यालय जानुपर्नेछ । अन्य सवै कामहरु घरबाटै अनलाइन सेवामार्फत गर्न सकिने यातायात ब्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले बताए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले मन्त्रीको सपथ लिएलगतै यातायात कार्यालयहरुमा लाग्ने भीड हटाउने प्रतिबद्धता गरेका थिए । प्रतिबद्धताअनुसार २० असारदेखि कास्की यातायात ब्यवस्था कार्यालयबाट अनलाइन सेवा सुरु गरिएको थियो । कास्कीमा सफल भएपछि सर्वाधिक भीड हुने एकान्तकुनाबाट आजदेखि अनलाइन सेवा सुरु गरिएको छ । ‘अबको केही दिनभित्र मधेश र लुम्बिनी प्रदेशका यातायात ब्यवस्था कार्यालय मार्फत पनि अनलाइन सेवा सुचारु गर्छौ’, मन्त्री ज्वालाले भने । यातायात ब्यवस्था कार्यालयको भीड हटाउने र बिचौलियाहरुको अन्त्य गर्न देशका सवै यातायात ब्यवस्था कार्यालयहरु अनलाइन सिस्टममा लिन लागिएको छ