नवलपरासी ।
१ लाख ३९ हजार नक्कली नोट सहित नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका–४ फलफुल चोकस्थित विनय रेष्टुरेन्टबाट नेपाली १ हजार दरको १ सय ३९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने सामानहरुसहित २ जनालाई हिजो प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व बुलिङटार गाउँपालिका–६ ठिमुरे बस्ने ३० वर्षीय कृष्ण बहादुर बिक र तनहुँ ऋषिङ गाउँपालिका–३ दानश्री बस्ने २५ वर्षीय सुरज बिक रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरू बसेको उक्त रेष्टुरेन्टको कोठामा तलासी गर्दा नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने स्ट्याम्प प्याड ३ थान, चम्किलो स्टिकर टेप ६ थान, ग्लु १० थान, मसी, ब्रस, फलामे स्केल, कैँची लगायतका विभिन्न सामानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उक्त घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यस्तै पोखरा महानगरपालिका–१९ लामाचौर हवल्दार चौताराबाट स्रोत नखुलेको भारतीय रूपैयाँसहित एकजनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१९ गैराबारी बस्दै आएका पर्वत जलजला गाउँपालिका–६ सालिजा घर भएका ३२ वर्षीय धनबहादुर पुर्जा मगर छन् ।
उनलाई ९ लाख ९५ हजार नेपाली रुपैयाँ र ४७ हजार ५ सय भारतीय रूपैयाँसहित सीआरभी लामाचौरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया