मनाङ एयरको हेलिकप्टर दुर्घटना, पाइलट घाइते

मनाङ एयरको हेलिकप्टर दुर्घटना, पाइलट घाइते


काठमाडौँ ।

मनाङ एयरको ‘एन–एनजे’कलसाइन हेलिकोप्टर दुर्घटना भएको छ ।

सोलुखुम्बूको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकोप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा आज बिहान दुर्घटनाग्रस्त भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार दुर्घटनामा घाइते हेलिकोप्टरका पाइलट प्रकाशकुमार सेढाईंको उद्धार गरी अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

पाइलट सेढाईं खतरामुक्त रहेको अस्पतालले जनाएको छ । लोबुचेको हेलिप्याड नजिकै दुर्घटनाग्रस्त हेलिकोप्टरमा पाइलट मात्र थिए। हेलिकोप्टरमा आगलागी भएको छ ।

दुर्घटनाग्रस्त हेलिकोप्टरका पाइलटलार्ई फिस्टेल एयरको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको हो । उक्त हेलिकोप्टर लुक्लामा सामान झारेर पर्यटक लिन लोबुचे उडेको थियो ।

हेलिकोप्टर के कारणले दुर्घटना भयो भन्नेबारे थप अनुसन्धानपछि मात्रै थाहा हुने प्राधिकरणले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार हिमाली क्षेत्रमा तीव्र हावा चलेको र सोही हावाको बेगले अवतरणको क्रममा हेलिकोप्टर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।