खाद्यले भोलिदेखि खसी, बोका र च्याङ्ग्रा बेच्ने, कहाँ पाइन्छ ?

खाद्यले भोलिदेखि खसी, बोका र च्याङ्ग्रा बेच्ने, कहाँ पाइन्छ ?


काठमाडौं ।

खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले सहुलियतमा बिक्री गर्ने खसी, बोका र च्याङ्ग्रा खरिद सकिएको छ ।

कम्पनीकाअनुसार यो वर्ष २ हजार खसी, बोका र एक हजार च्याङ्ग्रा खरिदको प्रक्रिया थालिएको थियो ।

खरिद गरिएका खसी, बोका र च्याङ्ग्रा सोमबार बिहानदेखि काठमाडौं भित्रिन थाल्ने कम्पनीले बतायो ।

सोमबार दिउँसोदेखि बिक्री थाल्ने र खसी, बोका र च्यांग्राको मूल्य भने बिक्री थाल्नु अघि तय गरिनेछ ।

यस वर्ष धादिङ, मकवानपुर र दाङबाट २ हजार हाराहारी खसी र बोका खरिद गरेर ल्याइँदैछ । दाङको तुलसीपुरबाट खरिद गरिएको खसी र बोका सोमबार बिहानसम्म काठमाडौं आइपुग्ने बताइएको छ ।

यस वर्षका लागि रसुवाबाट सहकारीमार्फत कम्पनीले एक हजार च्याङ्ग्रा खरिद गर्दैछ । जिल्लास्थित सहकारीहरुले उक्त च्याङ्ग्रा काठमाडौं पठाउन छलफल चलिरहेको कम्पनीले जनाएको छ ।

काठमाडौं ल्याइएका खसी, बोका र च्याङ्ग्रा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बागमती प्रदेशिक कार्यालय थापाथलीबाट बिक्री गरिनेछ । खसी, बोका र च्याङ्ग्राका लागि संस्थानले ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट खरिद गरेर सर्वसाधारणलाई बिक्री गरिने खसी, बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने घोषणा गरेको थियो ।