बुधबार विश्वासको मत लिँदै काेशीका मुख्यमन्त्री कार्की, माआ‍ेवादीले पनि समर्थन गर्ने

बुधबार विश्वासको मत लिँदै काेशीका मुख्यमन्त्री कार्की, माआ‍ेवादीले पनि समर्थन गर्ने


विराटनगर  ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले तत्काल विश्वासको मत लिन लागेका हुन् ।

प्रदेशसभा नियमावली २०७४ को नयिम १२८ बमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभामा दर्ता गरेका छन् ।

विश्वासको मत लिने प्रस्तावमाथी छलफल हुनुभन्दा २ दनि अघि प्रदेशसभा सचिवलाई सूचना दिनुपर्ने व्यवस्थाअनुसार आजै (साेमबार) प्रदेशससभामा सूचना दर्ता गरिएको हो ।

विश्वासको मत प्राप्त गर्न कार्कीले एमाले र गठबन्धनमा आबद्ध दलहरुबीच पनि छलफल सुरु गरेका छन् ।

माओवादीले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने

नेकपा एमालेका ३९ र नेपाली कांग्रेसका ८ सांसदको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका कार्कीलाई नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने भएकाे छ ।

माओवादी केन्द्र कोशी प्रदेशको सोमबार बसेको कार्यालय बैठकमा यस विषयमा छलफल भएको थियो । उक्त छलफलले विश्वासको मत दिनुपर्ने निष्कर्ष आएकाे स्रोतले जनाएको छ ।

तर, अहिलेसम्म केन्द्रबाट यस विषयमा प्रदेश कमिटिलाई कुनै निर्देशन नभएकाे बुझिन्छ ।

गठबन्धनको निर्णय विपरीत विद्रोह गर्दै कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बनेका हुन् । यसका लागि प्रदेशसभा सचिवालयले बुधबारका लागि प्रदेशसभा बैठक बोलाएको छ ।