काठमाडौं ।
युद्धग्रस्त इजरायलबाट थप १८ जना नेपालीहरुको उद्धार भएको छ ।
भारत सरकारको ‘अपरेसन विजय’ अन्तर्गतको उद्धार उडानबाट १८ जना नेपालीहरुको पनि उद्धार भएको हो ।
भारतका लागि नेपाली राजदूत शंकर शर्माले १८ जना नेपालीहरु भारतको नयाँदिल्ली आइपुगेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् । उनीहरुलाई राजदूत शर्माले नयाँदिल्लीमा स्वागत गरेका थिए ।
दशैंका बेला घर फर्किन पाएकोमा नेपालीहरु उत्साहित रहेको र उनीहरुलाई घरसम्म जान गाडीको व्यवस्था गरिएको राजदूत शर्माले जानकारी दिएका छन् ।
यसअघि नेपाल सरकारले काठमाडौंबाट नेपाल एयरलाइन्सको हवाईजहाज इजरायलको तेलअविव पठाएर २५४ नेपालीहरुको उद्धार गरेको थियो ।
थप उद्धारका लागि नेपाल सरकारले भारत सरकारलाई आग्रह गरेको थियो । सो आग्रह बमोजिम भारत सरकारले आफ्ना नागरिकहरुसँगै १८ जना नेपालीलाई पनि उद्धार गरिदिएको हो । राजदूत शर्माले इजरायलबाट नेपालीहरुलाई ल्याइदिएको भन्दै भारत सरकारप्रति आभार प्रकट गरेका छन् ।
प्रतिक्रिया