लुम्बिनी ।
पेट्रोलियम पदार्थको मूल्य समायोजन हुंदा नेपालमा भन्दा भारतमा इन्धनको मूल्य सस्तो भएपछि नेपालबाट भारतमा तेल भर्न जाने गाडी नियन्त्रणमा ल्याउन पेट्रोलियम व्यवसायीले सरकारसँग माग गरेका छन् ।
सामान लिन जाने बहाना बनाएर सीमा पारी भारत गएर गाडीमा तेल भरेर ल्याउने गलत कृयाकलाप रोकेर नेपाली व्यवसायीलाई सहयोग पुराउन पेट्रोलियम व्यवसायीहरुले सरकार र सरोकारवाला निकाय सङ्ग आग्रह गरेका हुन् ।
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन बुटवल, रुपन्देहीले बिजया दशमी, दीपावली, छठ र नेपाल सम्वतको अवसरमा आयोजित शुभकामना, रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्ने व्यवसायीहरुले कोहि कसैले नियतबस गल्ती गरेमा तेस्ता ब्यवसायीलाई कार्बाही गर्न प्रहरी प्रशासनलाई सहयोग गर्ने बताए ।
कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले व्यवसायी, कर्मचारी लगायत कसैलाइ पनि गलत काम गर्ने छुट नभएको बताए । उनले सेवाग्राही तथा आम जनताको हितमा सेवा प्रवाह गर्न सबैलाइ आग्रह गर्दै समाजका हरेक क्षेत्रका बेथिति रोक्न सबैको साथ सहयोग आवश्यक पर्ने बताऐ ।
पेट्रोलियम डिलर्स एशोसिएशन लुम्बिनी प्रदेश संयोजक प्रेम न्यौपानेले पेट्रोलियम व्यवसायीले आयल निगमले दिएको तेल सहज रुपमा ग्राहक उपभोक्तालाइ उपलब्ध गराएको भन्ंदै उपभोक्तामुखि भएर ब्यवसायीले सेवा प्रवाह गरेको बताऐ । उनले कुनैपनि पेट्रोलियम व्यवसायीले तेलमा चुहावट नगरेको बताउंदै व्यवसायीले चुहावट गर्नै नसक्ने दावी गरे ।
नेपाल आयल निगम प्रदेश कार्यालय भलवारीका प्रमुख इन्जिनियर जगदिशचन्द्र यादवले यस क्षेत्रमा अहिले तेलको कुनै समस्या नभएको बताऐ ।
रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरत विकले तेलमा हुने मिसावट र सीमा पारीबाट हुने आयात रोक्न सुरक्षाकर्मीको एकल प्रयासले मात्र सम्भव नभएकाले सबैको सहयोग आवश्यक पर्ने बताए । उनले मिसावट र सीमा पारीबाट हुने आयात रोक्न आयल निगमले नेतृत्व गर्नुपर्ने र त्यसका लागि प्रहरी प्रशासनले सुरक्षा दिने प्रतिवद्धता जनाएो ।
पेट्रोलियम डिलर्स एशोसिएशन बुटवलका अध्यक्ष हिमाल गैरेले आफुहरुले उपभोक्तामुखि भएर तेल विक्री वितरण गरेको बताउंदै माग अनुसार तेल उपलब्ध गराउन नेपाल आयल निगमसंग माग गरे ।
कार्यक्रममा पश्चिमाञ्चल, ट्याङकर व्यवसायी महासंघका महासचिव भुपेन्द्र अर्याल, नापतौल तथा गुणस्तर कार्यालय प्रदेश प्रमुख शम्भुकुमार झा, प्रेस सल्लाहाकार खिमानन्द भट्टराई लगायतले आआफ्ना भनाइ राखेका थिए ।
पेट्रोलियम डिलर्स एशोसिएशन बुटवलका अध्यक्ष हिमाल गैरेको अध्यक्षता र महासचिव हरिराम कसौधनको सञ्चालनमा कार्यक्रम भएको हो ।
प्रतिक्रिया