९२ बोरा चिनी सहित एक जना पक्राउ

९२ बोरा चिनी सहित एक जना पक्राउ


काठमाडौं ।

ईलाका प्रहरी कार्यालय बनेपाले राजस्व छली ल्याएको चिनीसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बिहीबार अरनिको राजमार्गमा सवारी साधन चेकजाँच गर्नेक्रममा राजस्व छलेर चिनी ल्याउने धुलिखेल नगरपालिका –२ का ३७ वर्षीय राजु तिमल्सिनालाई पक्राउ गरेको हो ।

प्रहरी अरनिको राजमार्गमा सवारी चेकजाँच गर्नेक्रममा तिमल्सिनाले चलाइ ल्याएको ना ६ ख ६२१९ नम्बरको ट्रकभित्र राजस्व छलीगरी धानको बोराले छोपी लुकाइछिपाइ अबैध रुपमा ल्याएको ९२ बोरा चिनी र २८ बोरा धान फेला पारेको प्रहरीले जनाएको छ ।

ट्रकभित्र अन्दाजी ५ लाख ९८ हजार रुपैयाँ बराबरको चिनी र ४२ हजार रुपैयाँ बराबरको धान रहेको प्रहरीले जनाएको छ ।

तिमल्सिनाले उक्त चिनी र धानको बिल नदेखाएपछि प्रहरीले चिनी र धान बरामद गरी तिमल्सिनालाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाएको छ ।