अब ज्यानकाे बाजी थापेर खाेला तर्नुपर्दैन

अब ज्यानकाे बाजी थापेर खाेला तर्नुपर्दैन


दमाैली ।

वारि भिमाद नगरपालिका, पारि शुक्लागण्डकी नगरपालिकाको बीचमा बगेको बरखोला हिउँदमा सामान्य भए पनि बर्खामा उर्लेर बहने हुँदा तर्न सर्वसाधारणलाई जोखिम थियो । खोला वारपार गर्नका लागि ज्यानको बाजी थापेर तर्नुको विकल्प थिएन । तर, अहिले पक्की पुल निर्माण भएपछि सो समस्या समाधान भएको छ ।

दुई पालिकालाई जोडेको सो पक्की पुलले यस भेगका हजारौँ सर्वसाधारण लाभान्वित भएका छन् । पक्की पुल निर्माणसँगै जीवनस्तर सहज हुनेमा स्थानीयवासी खुसी छन् । ‘पुल बनेपछि जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता अन्त्य भयो,’ स्थानीयवासी इमानबहादुर थापाले भने ।

‘खोला तर्न बनाइएको बाँसको फड्के पटक–पटक खोलाले बगाइदिने गरेको थियो,’ उनले भने, ‘खोला उर्लिंदा सवारीसाधन चल्दैनथे । चर्को घाम लागेपछि उर्लिएको खहरे खोला सुक्ला र खेतबारीको काममा जाऊँला भन्दैमा दिन बित्छ । अब त पुल बनेपछि सहज भयो ।’

विद्यालय, बजार, कार्यालय जान खोला तर्नुको विकल्प नभएकाले जोखिम मोलेरै भए पनि खोला तर्नुपर्ने समस्यामा स्थानीयवासी थिए । स्थानीयवासी शिवकुमार आलेले पुल निर्माण भएपछि आफूहरूलाई राहत मिलेको बताए ।

गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले उपलब्ध गराएको बजेटमा शुक्लागण्डकी नगरपालिका–११ र भिमाद नगरपालिका–९ जोड्न बरखोलामा ३ करोड ९८ लाख ६३ हजार २ सय ७७ रुपैयाँको लागतमा सो पुल मुक्तिनाथ दिपज्योति ज्वाइन्ट भेञ्चर कम्पनीले निर्माण गरेको शुक्लागण्डकी नगरपालिका–११ का वडाध्यक्ष शालिकराम भट्टराईले जानकारी दिए ।

२०७७ साल कात्तिक २६ गते शिलान्यास भई निर्माण गरिएको सो पुल ३२ दशमलव ४ मिटर लामो छ । २०७८ साल असार २२ गतेसम्म पुल निर्माण गरिनुपर्नेमा विविध कारणले एक वर्ष ढिला हुन पुगेको उनको भनाइ थियो ।

खोलाले वर्षामा अत्यधिक कटान गर्ने भएकाले त्यसलाई रोक्न दायाँबायाँ १ हजार ३ सय घनमिटरको ग्याबिन भरिएको छ । भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले पक्की पुलले शुक्लागण्डकी र भिमाद मात्र नभई स्याङ्जाका केही भागका सर्वसाधारण पनि लाभान्वित हुने बताए ।