दुध उत्पादक किसानलाई ३६ लाख नगद अनुदान

दुध उत्पादक किसानलाई ३६ लाख नगद अनुदान


रुपन्देही ।

तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा नगद अनुदान वितरण गरेको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को दुध संकलनविवरणको आधारमा दुध उत्पादन अनुदान वितरण गरेको हो । यही हिसाबका आधारमा ३६ लाख १२ हजार ४०३ रुपैयाँ अनुदान वितरण गरिएको छ ।

दुधमा आत्मनिर्भर तिलोत्तमाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रम अगाडि बढाएको हो ।

नगरपालिकाले नियमित रूपमा पशु बिमा रकममा ५० प्रतिशत अनुदान पनि दिँदै आएको नगर प्रमुख रामकृष्ण खाणले बताए । अनुदानमा साना किसानको पहुँचलाई बढाउँदै दुग्ध उत्पादनमा प्रोत्साहन गर्न अनुदान कार्यक्रम ल्याइएको उनको भनाइ छ ।

नगरपालिकाले सधैँजसो चालु आवमा पनि दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैयाँका दरले अनुदान दिने गरी बजेट विनियोजन गरेको छ ।

अनुदानलाई व्यवस्थित बनाउन सरोकारवालासँगको परामर्शमा नगरपालिकाले प्रोत्साहन रकम वितरण कार्यविधिसमेत जारी गरिसकेको छ । तिलोत्तमामा हाल १८ वटा दुग्ध उत्पादक सहकारी र एउटा चिस्यान केन्द्रसहित १९ वटा दुग्ध उत्पादक संस्था छन् । विभिन्न १६ वटा सहकारीले बिहीबार अनुदान रकम प्राप्त गरेका छन् ।

बाँकी सहकारीले आवश्यक प्रक्रिया पूरा गरेपछि अनुदान रकम प्राप्त गर्ने नगरपालिकाले जनाएको छ । तिलोत्तमामा वार्षिक ५० लाख लिटर बढी दुध उत्पादन हुने गर्दछ तर सबै दुध यहीँ संकलननहुने र अन्यत्रसमेत बिक्री हुने किसानको भनाइ छ ।

नगरको टिकुलीगढ दुग्ध उत्पादक सहकारीले वार्षिक सात लाखभन्दा बढी लिटर दुध संकलनगर्दै आएको छ । सहकारीमार्फत तीन हजारभन्दा बढी किसानले दुध बिक्री गर्ने गरेको र २७ केन्द्रमा दुध संकलनहुने गरेको सहकारीले उपलब्ध गराएको तथ्याङ्कमा छ ।