मुगु सामूहिक हत्या प्रकरण : एक जना पक्राउ

मुगु सामूहिक हत्या प्रकरण : एक जना पक्राउ


मुगु ।

मुगुस्थित छायाँनाथ रारा नगरपालिका वडा नं – ६ मन्दु गाउँमा सामूहिक हत्या भएको ४ दिनपछि प्रहरीले एक जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

आइतबार दिउँसो अन्दाजी १२ बजेको समयमा जिल्ला सदरमुकाम गमगढीस्थित बिच बजारको (नगरपालिका जाने बाटो) बाट प्रहरीले शङ्कास्पद ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार प्रहरीले नियन्त्रणमा लिएका ती व्यक्तिबारे विस्तृत सूचना भने गोप्य राखेको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले हत्यारा अनुसन्धानका लागि घटना स्थलमा ११ गते नै कर्णाली प्रदेश कार्यालयको समन्वयमा घटनाको सूक्ष्म अनुसन्धानका लागि जुम्ला, कोहलपुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली मुन्दु पुगेर अनुसन्धान गरिरहेको छ ।

यसै बिच कर्णाली प्रदेश प्रहरी प्रमुख भीम ढकाल आइतबार मुगु पुगेका छन् । अनुसन्धानमा भएका प्रगति बुझ्न र अनुसन्धानलाई थप सहयोग गर्न ढकाल मुगु पुगेका हुन् । प्रदेश प्रहरी प्रमुख ढकाललाई प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले घटनास्थलको स्थलगत भ्रमणमा सघाइरहेका छन् प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।

घटना स्थलमा शनिवार नै विशेष टोली जुम्ला र कोहलपुरबाट तालिमप्राप्त कुकुरसहितको प्रहरीको अनुसन्धान टोली मुगुको मुन्दु गाउँमा पुगेको थियो ।

छायानाथ रारा –६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज , ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहरको केही दिन अधि हत्या भएको हो ।

दसैँमा माइतबाट फर्किएकै दिन श्रीदेवीको परिवारको हत्या, ४ जनाकै शव सदरमुकाम ल्याइयो