श्रीदेवी स-परिवार हत्या प्रकरण : प्रदेश प्रहरीले माग्यो सीआईबीको सहयोग

श्रीदेवी स-परिवार हत्या प्रकरण : प्रदेश प्रहरीले माग्यो सीआईबीको सहयोग


मुगु ।

छाँयानाथ रारा नगरपालिकामा एकै परिवारका ४ जनाको हत्या भएको घटना अझै पत्ता लागेको छैन ।

हत्या अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को सहयोग मागेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई केन्द्रीय अनुसन्धान ब्युरोको टिम पठाउन पत्राचार गरेको छ ।

त्यसअघि जिल्ला प्रहरी कार्यालय मुगुले कर्णाली प्रदेश प्रहरी कार्यालयलाई पत्राचार गरेको जिल्ला प्रहरी कार्यालय मुगुका एकजना अधिकृतले रातोपाटीलाई बताए । प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरोको टोली घटनास्थलमा पठाउने तयारी गरेको छ ।

अहिले घटनाबारे ३ जना इन्स्पेक्टरहरूले छुट्टाछुट्टै कोणबाट अनुसन्धान गरिरहेका छन् । मुगु प्रहरीलाई कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएका अनुसन्धान अधिकृतहरूले सहयोग गरिरहेका छन् ।

छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरा, उनका छोरा ११ वर्षीय मनोज, ८ महिनाका अर्का छोरा रहर र ८ वर्षीय छोरी अप्सरा बोहरालाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको अबस्थामा कार्तिक १० मा शव फेला परेको थियो ।