गण्डकीले कर्णालीलाई एक करोड, पोखरा महानगरले ५० लाख र जनप्रतिनिधिले एक महिनाको तलव सहयोग दिने

गण्डकीले कर्णालीलाई एक करोड, पोखरा महानगरले ५० लाख र जनप्रतिनिधिले एक महिनाको तलव सहयोग दिने


गण्डकी ।

गण्डकी प्रदेश सरकारले जाजरकोट भूकम्पबाट प्रभावितको राहत तथा पुनःस्थापनाका लागि एक करोड सहयोग गर्ने भएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश सरकारलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

“भूकम्पबाट कर्णालीमा ठूलो मानवीय र भौतिक क्षति भयो, एउटा प्रदेशका नागरिकलाई विपद् पर्दा अर्काले सहयोग गर्नुपर्छ भनेर गण्डकी प्रदेश सरकारका तर्फबाट १ करोड दिने निर्णय गरेका हौँ”, उनले भने ।

भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा आपत्कालीन मानवीय सहायता उपलब्ध गराउन शनिबार नै औषधिसहित चिकित्सकको टोली त्यसतर्फ पठाइएको मुख्यमन्त्री पाण्डेले बताए ।

मन्त्रिपरिषद् बैठकले भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकमा रहेका परिवारप्रति समवेदना प्रकटसहित भूकम्पका घाइतको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

पोखरा महानगरपालिद्वारा सहयोग

पोखरा महानगरले जाजरकोट र रुकुम पश्चिमका भूकम्पका घाइतेको उपचारका लागि औषधिसहित राहत सामग्री पठाएको छ । पोखरा महानगरपालिका–७ का वडाध्यक्ष राममोहन आचार्यको नेतृत्वमा चिकित्सकसहित १७ जनाको राहत टोली मध्यपहाडी लोकमार्ग हुँदै भूकम्प प्रभावित क्षेत्रमा गएको हो ।

“स्वास्थ्यकर्मी, नगर प्रहरीसहितको हाम्रो टोली आजै बेलुकासम्म भूकम्प प्रभावित रुकुम पश्चिम र जाजरकोट पुगिसक्छ”, उनले भने, “औषधि, त्रिपाल, कम्मल, लत्ताकपडालगायत राहत सामग्री लिएर हामी त्यसतर्फ जाँदैछौँ ।” महानगरले भूकम्प प्रभावित क्षेत्रमा ५० लाखको सहयोगसमेत घोषणा गरेको छ ।

महानगरका जनप्रतिनिधिले एक महिनाबराबरको पारिश्रमिक भूकम्प प्रभावितको राहत कोषमा प्रदान गर्ने निर्णय गरेको वडाध्यक्ष आचार्यले जानकारी दिए । शनिबार नै गण्डकी प्रदेश सरकारले पनि आपत्कालीन मानवीय सहायताका लागि चिकित्सकसहितको उद्धार टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएको थियो ।

पोखरास्थित सङ्क्रामक तथा सरुवा रोग अस्पतालका प्रमुख डा विकास गौचनको नेतृत्वमा विशेषज्ञ चिकित्सकसहित औषधि र स्वास्थ्य सामग्री रुकुम पश्चिम र जाजरकोट पठाइएको प्रदेश सरकारले जनाएको छ । गण्डकी प्रदेशका अन्य निकाय र स्थानीय तहले पनि भूकम्प प्रभावितको उद्धार तथा राहत सहयोगमा सकेजति हातेमालो गरिरहेका छन् । बागलुङको बडिगाड गाउँपालिकाले चिकित्सकसहित स्वास्थ्य सहायताका सामग्री भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ ।

स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसीको नेतृत्वमा औषधिसहित स्वास्थ्यकर्मीको टोली रुकुम पश्चिम र जाजरकोट पठाइएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताए । उक्त टोली आइतबार बिहान भूकम्पबाट अतिप्रभावित रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा पुगेर भूकम्पमा परी घाइते भएकाको उपचारसहित मानवीय सहायतामा जुटेको उनको भनाइ छ ।

नवलपुरको मध्यविन्दु नगरपालिकाले पनि भूकम्प प्रभावितका लागि २ लाख सहयोग गर्ने निर्णय गरेको छ । अन्य स्थानीय तहले पनि राहत सहयोग जुटाउन पहल गरिरहेका छन् । सामाजिक सङ्घसंस्था र जनस्तरबाट समेत भूकम्प प्रभावितका लागि सहयोग सङ्कलन सुरु भएको छ ।

गण्डकी प्रदेशसभा सदस्य डिल्लाराम सुवेदीले आफ्नो एक महिनाको पारिश्रमिक भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्ने भएका छन् । भूकम्प प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सरकारले स्थापना गरेको राहत कोषमा उक्त रकम प्रदान गर्ने प्रदेशसभा सदस्य सुवेदीले बताए ।

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिमका एक सय ५७ जनाले ज्यान गुमाएका छन् । भूकम्पमा परी दुई सयभन्दा बढी घाइते भएका छन् भने स्थानीयवासीका हजारौँ घरगोठलगायत भौतिक संरचनामा अकल्पनीय क्षति पुगेको छ ।