प्रधानाध्यापक मृत्यु प्रकरण : छानबिन गर्न माग गर्दै राजमार्ग अवरूद्ध

प्रधानाध्यापक मृत्यु प्रकरण : छानबिन गर्न माग गर्दै राजमार्ग अवरूद्ध


सिराहा ।

सिराहामा प्रधानाध्यापकको मृत्युको घटना छानबिन गर्न माग गर्दै राजमार्ग अवरूद्ध गरिएको छ।

गोलबजार नगरपालिका वडा नम्बर ३ जमदहस्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार साह विद्यालयमै मृत भेटिएका थिए।

घटनामा प्रहरी अनुसन्धान शंकास्पद देखिएको भन्दै साहका परिवार आन्दोलित छन्।

घटना निष्पक्ष छानबिन गर्न माग गर्दै पीडित परिवारसँगै स्थानीयले टायर बालेर प्रदर्शन गर्दै मिर्चैयास्थित पूर्व(पश्चिम राजमार्ग सोमबार दिउँसो साढे तीन घण्टा अवरूद्ध गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए।

‘बिहान ९ बजेदेखि साढे १२ बजेसम्म राजमार्ग ठप्प भएको थियो। अहिले हामीले बाटो खुलाएका छौं। मृतक परिवारको माग बमोजिम शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौं पठाएका छौं,’ उनले भने।

विद्यालयको निमार्णधीन तेस्रो तल्लाको सभाहलमा आइतबार मिर्चैया नगरपालिका वडा नम्बर ६ घर भएका प्रधानाध्यापक साह झुण्डिएको अवस्थामा फेला परेका थिए।

शव फेला परेको ठाउँमा रगतसमेत देखिएकाले हत्या हुन सक्ने अनुमान लगाउँदै मृतक परिवारले निष्पक्ष छानबिनको माग गरिरहेका छन्।

आन्दोलनको क्रममा सोमबार बिहानैदेखि मृतक प्रधानाध्यापक साहकी पत्नी मीनाकुमारी साह राजमार्गमै सुतेकी थिइन्। घटनाको प्रकृतिले आत्महत्या देखिएको भए पनि पोष्टमर्टम रिपोर्ट र प्रहरी अनुसन्धानबाट वास्तविकता खुल्ने प्रहरी नायव उपरीक्षक पाण्डेले बताए।