औषधि नभएर रित्तियो फार्मेसी

औषधि नभएर रित्तियो फार्मेसी


सर्लाही ।

सर्लाहीको लालबन्दीस्थित प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमेमा बिरामीले निःशुल्क औषधि पाउने फार्मेसी औषधि नभएर रित्तिएको छ ।

स्वास्थ्य बिमा गरेका बिरामीलाई निःशुल्क औषधि प्रदान गर्न राखिएको औषधि पसलमा अहिले कुनै पनि औषधि छैनन् ।

औषधि आपूर्ति गर्ने संस्थासँग स्थानीय जनप्रतिनिधिले बेलैमा सम्झौता नवीकरण नगर्दा औषधिको अभाव भएको हो ।

स्वास्थ्य बिमा गरेका यस क्षेत्रका बिरामी बाहिरका औषधि पसलबाट औषधि खरिद गरेर खान बाध्य भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार पर्ल मेडिटेक भरतपुर, चितवनसँग औषधि आपूर्तिका लागि तीन वर्षे सम्झौता भएको छ ।

प्रत्येक आर्थिक वर्षमा सम्झौता नवीकरण गर्नुपर्ने हुन्छ । प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष एवं लालबन्दी नगरपालिका ९ का वडाध्यक्ष नारायण अधिकारीले सम्झौता गर्न केही समय ढिलो हुँदा औषधि अभाव हुन पुगेको स्वीकार गर्छन् ।

अहिले भने आफूहरूको तर्फबाट सम्झौता नवीकरण गर्न तयार भएर बसेको अधिकारीले बताए ।

राष्ट्रिय बिमा बोर्डले सूचीकृत गरे अनुसार स्वास्थ्य बिमा गरेका व्यक्तिले ११ सय थरीका औषधि निःशुल्क पाउनुपर्ने हो ।

लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक सुरेन्द्र खतिवडाले उपलब्ध जनशक्तिको दक्षताका आधारमा औषधि वितरण गर्दै आइरहेको बताए ।