अप्रेसनको क्रममा महिलाको मृत्यु, सञ्चालक र चिकित्सकहरु हस्पिटल बन्द गरेर फरार

अप्रेसनको क्रममा महिलाको मृत्यु, सञ्चालक र चिकित्सकहरु हस्पिटल बन्द गरेर फरार


वीरगञ्ज ।

इमर्जेन्सी जन सेवा हस्पिटल बिर्तामा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि मृतकका आफन्त आक्रोशित बनेका छन् ।

पेट दुखेर उपचारको लागि पुगेकी महिलाको अप्रेसनको क्रममा मृत्यु भएपछि प्रहरीले उपचारमा संलग्न क्लिनिकका एक स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ ।

चन्द्रपुर नगरपालिका–७ बनबौहरीका इब्राहिम सिद्धिकीकी ३० वर्षीया श्रीमती नुर्जहान खातुनको पाठेघर अप्रेसन गर्ने क्रममा मृत्यु भएको हो ।

गरुडा नगरपालिका–८ विर्तामा रहेको सो हस्पिटलमा उपचारका लागि पुगेकी खातुनको चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको इब्राहिमले आरोप लगाएका छन् । अप्रेसनमा चिकित्सकले लापरवाही गरेका श्रीमतीको ज्यान गएको उनको भनाई छ ।

अस्पतालका चिकित्सकले बिरामीलाई वीरगञ्जको मेट्रो सिटी हस्पिटलका लागि रिफर गरेपनि त्यसभन्दा अघि नै ज्यान गएको उनको आरोप छ ।

खातुनको मृत्यु भएपछि हस्पिटलका सञ्चालक जिंगडिया निवासी राजेन्द्र महतो र चिकित्सकहरु हस्पिटल बन्द गरेर फरार भएका छन् । फरार भएका सञ्चालक महतो र चिकित्सकको खोजी भइरहेको तथा घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

मृतकका आफन्तले उपचारमा संलग्न चिकित्सकको सर्टिफिकेट, एनएमसी नम्बर कागजात जाँच गर्नुपर्ने र अप्रेशन गर्न अनुमति प्राप्त नगरेको ठहर भए हदैसम्मको कारबाही गर्नुपर्ने माग राखेका छन् ।

इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ओम खनालका अनुसार सोमबार बिहान ११ बजे क्लिनिकमा पुगेकी खातुनलाई स्वास्थ्यकर्मीले सोही दिन दिउँसो २ बजे पाठेघर झिकेर फालिदिएपछि उनको मृत्यु भएको हो । ‘पाठेघर झिकेर फालेपछि खातुनको अवस्था चिन्ताजनक भएछ,’ डीएसपी खनालले भने, ‘त्यसपछि सोमबार साँझ स्वास्थ्यकर्मीले ती महिलालाई वीरगञ्ज रेफर गरेछन् । वीरगञ्जको मेट्रोसिटी हस्पिटल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।’

दक्ष चिकित्सकबिनै सञ्चालनमा रहेको क्लिनिककले अनधिकृत रुपमा पाठेघरको अप्रेसन गरेको पाइएको डीएसपी खनालले बताए । ‘क्लिनिकमा एमबीबीएस डाक्टर समेत छैनन् । भिडिओ एक्स रे, आईसीयू लगायत कुनै पनि उपकरण र सुविधा समेत त्यहाँ रहेनछ । एचएको भरमा चलेको क्लिनिकमा जटिल खालको अप्रेसन गरेको पाइयो,’ डीएसपी खनालले भने, ‘हामीले उपचारमा संलग्न क्लिनिकका एचए चन्द्रदेव महरालाई पक्राउ गरेका छौ ँ। क्लिनिक सञ्चालकसहित बाँकी स्वास्थ्यकर्मी फरार छन् । उनीहरुको खोजी भइरहेको छ ।’

अप्रेसन गर्नुअघि बिरामीसँग क्लिनिकले अग्रिम २० हजार रुपैयाँ भुक्तानी लिएको पाइएको प्रहरीले जनाएको छ । खनालका अनुसार अप्रेसनको क्रममा महिलाको रक्तस्राव भएर स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि हतारहतार एचए महराले महिलालाई वीरगञ्ज रेफर गरेका थिए । त्यसपछि उनी क्लिनिक बन्द गरेर फरार भएको पाइएको खनालले बताए ।

‘पीडित पक्षले शव ल्याएर क्लिनिक अगाडि प्रदर्शन सुरु गरेपछि मात्रै हामीलाई जानकारी आएको हो,’ खनालले भने, ‘हामी पुग्दा क्लिनिक बन्द थियो। सुराकीको आधारमा हामीले एचए महरालाई पक्राउ गरेका हौँ ।’ महिलाको शव पोष्ट मार्टमको लागि प्रहरीले काठमाडौँको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याएको छ । गम्भीर प्रकृतिको घटना भएकाले शव परीक्षणको लागि काठमाडौँ पठाइएको डीएसपी खनालले बताए ।