गैर कानुनी रूपमा व्यापक बिजुली चोरी, २६ हजार ग्राहकको लाइन काटियो

गैर कानुनी रूपमा व्यापक बिजुली चोरी, २६ हजार ग्राहकको लाइन काटियो


सर्लाही ।

बलरा नगरपालिका क्षेत्रमा सङ्गठित रूपमै बिजुली चोरी भइरहेको पाइएको छ ।

नेपाल विद्युत प्राधिकरण मधेश प्रादेशिक कार्यालय, जनकपुरले आइबार, सोमबार, मङ्गलबार र बुधबार बलरा नगरपालिका विभिन्न स्थानमा गरेको छड्के जाँचका क्रममा घरायसी तथा अन्य ग्राहकले गैर कानुनी रूपमा व्यापक बिजुली प्रयोग गरिरहेको फेला पारेको छ ।

प्रादेशिक कार्यालय जनकपुरले नमुनाका रूपमा एक सय ग्राहकको सिङ्गल तथा थ्रि फेज मिटरको छट्के जाँच गरेको थियो । त्यसमध्ये ४०भन्दा बढी ग्राहकले विद्युत चोरी गरिएको पाइएको कार्यालयका प्रमुख मुनीन्द्र ठाकुरले बताए ।

प्रमुख ठाकुरले विद्युत वितरण लाइनबाट हुकिङ गर्ने, मिटर नराख्ने, राखेका मिटर पनि उल्टो पार्ने, मिटरमा प्वाल पारेर किला हालेर घुम्न नदिने, मिटरलाई बाइपास गरी विद्युत प्रयोग गर्नेलगायतका गैर कानुनी क्रियाकलाप सङ्गठित रूपमै भइरहेको पाइएको बताए । उनले गैर कानुनी रूपमा विद्युत प्रयोग गरिरहेका ग्राहकलाई जरिवानासहित हदैसम्मको कारबाही गर्न मलङ्गवा वितरण केन्द्रलाई निर्देशक दिइएको बताए । उक्त केन्द्रको विद्युत चुहावट ५२ प्रतिशत छ ।

कार्यालयले विद्युत चोरेर प्रयोग गरिरहेको थ्रि फेजका दुईवटा राइस मिल र एउटा सिँचाइको ग्राहकलाई जरिवानासहित कारबाही गरेको छ । उक्त मिलहरूले मिटर बाइपास गरी विद्युत प्रयोग गरिरहेका थिए । ब्रम्हबाबा जलउपभोक्ता समिति, धनकौलले ५० एमभिएको निजी ट्रान्सफर्मर जडान गरी बिनामिटर एक वर्षदेखि विद्युत चोरेर प्रयोग गरिरहेको थियो । उक्त समितिलाई साढे ६१ हजार रुपैयाँजरिवाना तिराइएको छ ।

विद्युत महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटियो

प्राधिकरणले समयमा विद्युत महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटेको छ । गत १२ कात्तिकबाट विद्युत महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रूपमा चलाइरहेको प्राधिकरणले बिहीबारसम्ममा २६ हजार २४४ ग्राहकको लाइन काटेको छ । लाइन काटिएका ग्राहकको बक्यौता रकम करिब ६२ करोड रुपैयाँछ ।

असुलउपर गर्नुपर्ने विद्युत महसुल बक्यौता वृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रहरूले महसुल नतिर्ने ग्राहकहरूको लाइन काटिरहेका छन् ।

यसअवधिमा सबैभन्दा बढी मधेश प्रदेशमा लाइन काटिएको छ । मधेश प्रादेशिक कार्यालय, जनकपुर मातहतका वितरण केन्द्रहरूले चार हजार ८५२ ग्राहकको लाइन काटेका छन् । उक्त ग्राहकको बक्यौता रकम १७ करोड ११ लाख रुपैयाँ रहेको छ ।

कोशी प्रादेशिक कार्यालय, विराटनगर मातहतका वितरण केन्द्रहरूले महसुल नतिर्ने चार हजार ३३१ ग्राहकको लाइन काटेका छन् । उक्त ग्राहकहरूको बक्यौता रकम नौ करोड ८१ लाख रुपैयाँ रहेको छ ।

लुम्बिनी प्रदेश डिभिजनल कार्यालय, नेपालगञ्ज मातहतका वितरण केन्द्रहरूले चार हजार १८ ग्राहकको लाइन काटेका छन् । उनीहरूको बक्यौता रकम तीन करोड ८५ लाख रुपैयाँ छ ।

लुम्बिनी प्रादेशिक कार्यालय, बुटवल मातहतका वितरण केन्द्रहरूले तीन हजार ३५२ ग्राहकको लाइन काटेका छन् । उनीहरूको बक्यौता रकम सात करोड ८५ लाख रुपैयाँ छ ।

बागमती प्रादेशिक कार्यालय, काठमाडौँ मातहतको वितरण केन्द्रहरूले दुई हजार सात सय ९३ ग्राहकको लाइन काटेका छन् । बक्यौता रकम ११ करोड ३४ लाख रुपैयाँ छ ।

गण्डकी प्रादेशिक कार्यालय, पोखराले महसुल नतिर्ने दुई हजार ७५५ ग्राहकको लाइन काटेको छ । बक्यौता रकम चार करोड ६ लाख रुपैयाँ छ ।

बागमती प्रदेश डिभिजनल कार्यालय, हेटौँडा मातहतका वितरण केन्द्रहरूले दुई हजार १७७ ग्राहकको लाइन काटेका छन् । बक्यौता रकम चार करोड ८२ लाख रुपैयाँ छ ।

सुदूरपश्चिम प्रादेशिक कार्यालय, अत्तरिया मातहतका वितरण केन्द्रहरूले एक हजार ३४२ ग्राहकको लाइन काटेका छन् । बक्यौता रकम दुई करोड २७ लाख रुपैयाँ छ ।

कर्णाली प्रादेशिक कार्यालय, सुर्खेत मातहतका वितरण केन्द्रहरूले ६२४ ग्राहको लाइन काटेका छन् । बक्यौता रकम ९१ लाख रुपैयाँ छ ।

प्राधिकरणले तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाउने छ । विद्युत महसुल सङ्कलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औँ दिनदेखि थपदस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औँ दिनदेखि ३०औँ दिनसम्म ५ प्रतिशतका दरले र ३१औँ दिनदेखि ४०औँ दिनसम्म १० प्रतिशतका दरले थपदस्तुर लाग्ने प्रावधान छ । मिटर रिडिङ भएको मितिले ४०औँ दिनसम्म पनि विद्युत महसुल नबुझाउने उपभोक्तालाई ४१औँ दिनदेखि विलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ ।

यसरी २५ प्रतिशतका दरले थपदस्तुर लागेको ६०औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ । लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्ताहरूलाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ ।

प्राधिकरणले विनियमावलीको यही प्रावधानको आधारमा मिटररिडिङ भएको मितिले ६०औँ दिनसम्म पनि बक्यौता विद्युत महसुल भुक्तान नगर्ने उपभोक्ताहरूको चरणबद्धरुपमा विद्युत लाइन काटी बक्यौता महसुल असुलउपर गर्ने रणनीति लिएको छ ।