लुम्बिनी ।
लुम्बिनी केबलकार लि.ले दशैं, तिहार, नेपाल संवत् र छठलाई लक्षित गरी ल्याएको चाडपर्व अफर सकिन लाग्दा पर्यटकको चाप बढ्दै गएको छ ।
असोज २१ गतेदेखि शनिबार वाहेकका दिनहरुमा लागु भएको यो अफरमा कात्तिक २३ गतेसम्म २५ हजार ७ सय ७७ जनाले केबलकार चढेको कम्पनीले जनाएको छ ।
साविक ७५० रुपैयांको टिकट दरमा ४० प्रतिशत छुट दिई टिकटदर ४ सय ५० रूपैयां कायम भएपछि चाडपर्वको विदामा परिवारसहित केबलकार चढ्ने संख्या बढेको अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले बताए ।
टिकट दरमा छुटसँगै केबलकारको टप स्टेसनमा रहेको रेष्टुरेन्टका हरेक परिकारमा पनि कम्पनीले १० प्रतिशत छुट दिएको छ । अफरको फाइदा उठाउंदै एकै दिन तीन हजार ५ सय जनासम्म केबलकार चढेका सैजूले बताए । खासगरी स्कूल,कलेज,संघसंसस्थाबाट समूहमा केबलकार चढ्न आउने गरेको उनको भनाई छ ।
‘चाडपर्वका अवसरमा सर्वसाधारणलाई परिवारसहित सहुलियत दरमा केबलकार चढाउने र कामाख्या देवी तथा सय वर्षदेखि पुजा हुंदै आएको दुर्गा भगवतीको दर्शन गराउने उद्देश्यले ल्याइएको अफरमा आन्तरिक र वाह्य पर्यटकको उत्साहजनक उपस्थिति भइरहेको छ’– केबलकारका अपरेसन म्यानेजर सैँजूले भने–‘अफर मंसिर ३ गते छठसम्म मात्रै बांकी रहेकाले यो अवसरको फाइदा सबैले उठाउन् भन्ने हाम्रो आग्रह छ ।’
आइएमई ग्रुपको मुख्य हिस्सा र स्थानीयको समेत कूल पाँच अर्ब लागतको केबलकार गत जेठ १५ देखि सञ्चालनमा आएको थियो । जेठ १५ देखि कात्तिक १५ सम्म ५ महिनामा एक लाख २ हजार ७९ जनाले केबलकारको यात्रा गरेका कम्पनीले जनाएको छ ।
टप स्टेसनमा बनेको कामाख्या देवीको मन्दिरको दर्शन गर्न नेपालसहित भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरू आउने गरेका छन् । प्रख्यात शक्तिपीठ कामाख्या देवीको दर्शनले श्रद्धालु भक्तजनका मनोकामना पूरा हुने र दुख एवं संकट मोचन हुने धार्मिक विश्वास छ ।
कम्पनीले टप स्टेसनमा ४० लाख लागतमा जिप लाइन सञ्चालनमा ल्याइसकेको छ । स्वच्छ र शान्त वातावरणको बसन्तपुरबाट बुटवलसहित भैरहवासम्म र हिमालको दृश्यावलोकन गर्न पाइने हिल स्टेशन भएकाले जीपलाइन भने छिटै डेढ करोड बढी लागतमा स्काई साइक्लिङ, विद्युतीय पिङ र बाल उद्यान बनाउँदै छ । यस्तै साढे ३ अर्ब लगानीमा १५० कोठा,एक हजार जना क्षमताको ब्याङक्वेट हल, क्यासिनो र स्वीमिङ पूल सहित पांचतारे होटेल पनि बनाउने तयारी छ ।
करिब सय जनालाई रोजगारी दिएको केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्कबापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई दिने गरेको छ । उक्त रकम दुई पालिकाले ५०–५० प्रतिशतका दरले बाँडफाँट गर्छन् ।
प्रतिक्रिया