आफ्नो जग्गा नभएपछि बगरमा खेतीपाती ,मनग्गे आम्दानी

आफ्नो जग्गा नभएपछि बगरमा खेतीपाती ,मनग्गे आम्दानी


महोत्तरी ।

एक वर्ष अगाडि मात्र फर्केर हेर्ने हो भने कर्जन्हा नगरपालिकाको वडा न.६ स्थित कमला नदिको किनारमा रहेको बगरमा काँसघारी र बालुवा मात्र  मात्र थियो ।

बगर नै बगर रहेको बरहरा मिर्चैया भन्ने यस ठाउँमा दिउसै मानिसहरु आवतजावत गर्न  डराउथे ।

तर  वर्ष दिनको छोटो अवधीमा यही बालुवाघारी हरियाली मात्र हैन, गरिब र भुमिहिनको लागी सबथोक बनेको छ ।

लटरम्म फलेको खोर्सानी देखाउदै स्थानीय रामेश्वर सिंहले भने  ‘यदि  यो बगर नगरले  गरिखान दिएर सहयोग नगरेको भए त हामी निक्कै समस्यामा हुन्थ्यौ ।’

‘पहिले बनिबुतो गरेर खान पनि खान धौधौ हुन्थ्यो,’ एक वर्ष अगाडिको स्मरण गर्दै सिंहले भने, अर्काको ज्यालादारी गरेर आएको पैसाले जिविकोपार्जन गर्थ्यौ अहिले त यही बगरबाट त्यसको दोब्बर आम्दानी हुन्छ ।’

सुरुमा त सिंहले बगरमा खेती गरेर आयआर्जन होला भन्ने पत्याउन नै सकेका थिएनन् । ‘माटो नभएको, बालुवा नै बालुवा भएको उक्त ठाउँमा नगर र गैरसरकारी संस्थाहरूले अन्यत्र ठाउँबाट माटो मात्र ल्याएनन, प्राङ्गारिक मल समेत ल्याएर बगरलाई उर्वरायुक्त बनाए,’ सिंहले भने, ‘अनि हामीलाई सुका दिन आए जस्तो लाग्यो ।’

रामेश्वर सिंह जस्तै  अहिले २४३ भूमिहीन, गरिब र विपन्न समुदायका परिवार आजकाल यही बगरमा आश्रित बनेका छ्न

नगरपालिका र युएनडिपीको आर्थिक सहयोग अनि सामुदायिक विकास तथा पैरवी मञ्चको  प्राविधिक सहयोगमा झण्डै ११६ बिगाहा जमिनमा पूर्ण भूमिहीन, गरिब तथा विपन्नहरूमा लागी  जिविकोपार्जनको माध्यम मात्र बनेको छैन, नगरको नै समृद्धिको आधार समेत तयार भएको छ ।

नदी उकास बगरहरु मधेशमा क्रसर माफिया र भु-माफियाहरुको निसाना बनिरहेको बेला नगर तथा गैरसरकारी संस्थाहरूले गरिबी उन्मूलनका लागि गरेको प्रयास उदाहरणीय बनेको भन्दै युएनडिपी मधेश प्रदेश प्रमुख धनबहादुर चनले यो नेपालको नौलो कृषि क्रान्ति भएको बताए ।

नगरको अधीनमा रहेको  क्षतिग्रस्त भु-भागमा सामूहिक खेती गर्नु समाजवादको अभ्यास समेत भएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादवको बुझाई छ  ।

अहिले यहाँ ११ हजार भन्दा बढी फलफूलका बिरुवा हुर्कंदै छन भने ७० बिगा क्षेत्रफलमा तरकारी खेती गरिएको छ । सिँचाइका लागी भूमिगत पानीलाई उत्खनन गरेर ४ वटा इनार बनाइएको छ ।

उत्पादित वस्तुहरूलाई बजारसम्म पुर्‍याउन यो ११६ बिगा जग्गालाई दुई भागमा विभाजन गरेर कृषी सडक बिस्तार गरिएको छ । आफ्नो कार्यकालभर नै गरिबहरूका लागी यो काम महत्वपूर्ण हुने बताउँदै जनप्रतिनिधिहरूले समेत यही बगरलाई जस लिने ठुलो माध्यम बनाएका छन ।

वडा अध्यक्ष प्रकाश श्रेष्ठ भन्छन्, ‘हामी यो कार्यकालको महत्त्वपूर्ण काम भएको अनुभूति गरेका छौ । गरिबहरूमा देखिएको खुसीले नै यो हाम्रो सफलता हो भन्ने ठानेका छौ ।’

स्थायी तटबन्धनको अभावमा नदिले कटान गरेर बगर बनाएका हजारौं हेक्टर जमिन अहिले पनि मधेशमा क्रसर माफियाहरूको बालुवा उत्खनन गर्ने अखडा बनेको छ भने भु-माफियाहरुले  अतिक्रमण गरेर रातारात आफ्नै अधीनमा बनाएका धेरै दृष्टान्तहरू छन ।

तर, यस्ता जग्गाहरुलाई पहिचान गरि कर्जन्हाको जस्तै पूर्ण भूमिहीन, गरिब र विपन्नका लागी उपभोग गर्ने हो भने गरिबी उन्मूलनको माध्यम मात्र हैन समृद्धिको आधार समेत तयार गर्न सकिने यो बगरले सन्देश समेत दिएको छ ।

हुर्कंदै गरेका सयौँ जातका आपका बिरुवाहरू, प्रवल, खुर्सानी, भ्यान्टा, कुर्ती आदीले हराभरा बनाएको बालुवाघारीलाई कसरी उर्वर बनाउन सकिन्छ भन्ने कर्जन्हा गतिलो उदाहरण बनेको अनुगमनको क्रममा त्यहाँ पुगेका बर्दिवास नगरपालिकाका पूर्व वडा अध्यक्ष चुडामणि पोखरेल बताए ।

फ्रान्सवाट आएका युएनडिपीका डिपुटी रेजिडेन्ट रिप्रिजेन्टेटिभ हेड  जुलियनले पनि बगरमा फस्टाउँदै गरेको किसानहरूको मेहनत देखेर निक्कै खुसी भए । बगरमा सुन फलाईरहेको किसानहरुलाई देखे पछि थप सहयोगको लागी पनि गृहकार्य गर्ने उनले आश्वासन दिएका छन ।

त्यस्तै वातावरण विज्ञ प्रज्ञ जन एलम्बरले कमला नदिले क्षतविक्षत बनाएको भूभागमा यति ठूलो परिवर्तन हुनु  वास्तवमै कृषि क्रान्ति भएको धारणा राखे ।

युएनडिपीद्वारा १ करोड १४ लाख २२ हजार ६ सय र नगरपालिकाद्वारा १ करोड ३६ लाख २५  हजार लगानीमा हराभरा बनिरहेको वालुवाघारी नगरले भूमिहीन, गरिबविपन्नहरुलाई २५ वर्षको लागी हस्तान्तरण गरेको छ ।

कृषि पर्यटनकोरुपमा विकास भैइरहेको यो बालुवाघारी कृषिप्रति चासो राख्ने जोकोहीका लागी महत्वपूर्ण अध्ययन केन्द्र बन्न सक्ने कृषि विज्ञहरू बताउँछन