काठमाडौंका ३७ ठाउँबाट १ करोडका धनमाल चोरी

काठमाडौंका ३७ ठाउँबाट १ करोडका धनमाल चोरी


काठमाडौं ।

दशैंपछिका २० दिनमा काठमाडौं उपत्यकामा करिब १ करोड रुपैयाँका धनमाल चोरी भएको छ ।

उपत्यका प्रहरी कार्यालयका अनुसार कात्तिक ११ देखि ३० गतेसम्म काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा ३७ चोरीका घटना हुँदा एक करोड ३ लाख ६६ हजार १९५ रुपैयाँ बराबरका धनमाल चोरी भएका हुन् ।

कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार काठमाडौंका २० ठाउँबाट २७ लाख ७९ हजार ४४५ रुपैयाँका धनमाल चोरी भएका छन् । ललितपुरका १० ठाउँबाट २५ लाख ३० हजार ७५० रुपैयाँका धनमाल चोरिएका छन् ।

त्यस्तै भक्तपुरका ७ ठाउँबाट ५० लाख ५६ हजार रुपैयाँका धनमाल चोरी भएको एसएसपी मैनालीले जानकारी दिए । यी घटनामा संलग्नताको आशंकामा प्रहरीले ७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

यही २० दिनको अवधिमा काठमाडौंको ५ ठाउँमा लुटपाट भएको छ । लुटपाटमा संलग्नको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।