नेपालमा ठुला महल बनाउन रोक्नुपर्छ : उपसभामुख राना

नेपालमा ठुला महल बनाउन रोक्नुपर्छ : उपसभामुख राना


काठमाडौँ ।

उपसभामुख इन्दिरा रानाले नेपालमा ठूला महल बनाउन दिन नहुने बताएकी छन् ।

हरेक मानिसले घर बनाउँदै जाँदा नेपालमा खाली जमिन खेतीका लागि बाँकी नरहने हुँदा अब ठूला महल बनाउने कार्य रोक्नुपर्ने बताएकी हुन् ।

उनले शुक्रवार विश्व शौचालय दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दुईरतीन जनाका लागि हरेक मानिसले घर बनाउँदै जाने हो भने भविष्यमा नेपालालाई खानका लागि खाद्यान्न अपुग हुने बताइन् ।

उनले भनिन्– ‘महल बनाउनका लागि जो नक्सा पास गर्न आउँछन् नि त्यो म मेयर भए रोकिदिन्थेँ । सबैले घर बनाउँदै जाने हो भने कहाँ बच्छ जमिन, सबै जंगल फाँड्छन् । खानलाई पनि पुग्दैन जस्तो लाग्छ ।’ उनले राम्रो काम गर्दा असहयोग गर्ने परिपाटीका कारण नेपालमा जे गरेपनि नहुने अवस्था देखिँदै गएको बताइन् ।

‘कोरोनाको बेलामा मैले खाना खुवाउँदा दरबारमार्गमा फोहोर भयो भनेर विरोध गरे । मैले खाना खानेहरुलाई पनि बोलाएर त्यहीँ बेस्करी सफा गरेको छु, दरबार स्क्वायरमा । पानीका कारण मोटरबाइक आउनलाई गाह्रो भयो भनेर मलाई गाली गरियो’ उपभामुख रानाले गुनासो गर्दै भनिन्( ‘केही गर्दा पनि नहुने के हो यो देशमा । बालेन साह मेयर बनेपछि नयाँ काम शुरु गर्नुभएको थियो तर कतिपय होटलले मानेनन् ।’

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले मेयर बनेलगत्तै काठमाडौँका शौचालय व्यवस्थापनका लागि गरेको पहलमा होटल व्यवसायीहरुले नै असहयोग गरेकोप्रति दुःख व्यक्त गरिन् । यस वर्षको विश्व शौचालय दिवसको नारा ‘परिवर्तनको गति बढाउँदै’ भन्ने रहेको छ ।

यस वर्ष पनि संयुक्त राष्ट्र सङ्घको आह्वानमा १९ नोभेम्बरमा विश्वभर शौचालय दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयन गरिरहेको छ ।

दिगो विकास लक्ष्यको छैठौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाईको विषय समावेश छ । तर सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्याउने र पूर्ण रूपमा सरसफाइको अवस्थामा पुर्याउनमा प्रगति भने सुस्त गतिमा छ ।

राष्ट्र सङ्घकाअनुसार विश्वका साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन् ।