कांग्रेसले जाजरकोट भूकम्पपीडितका लागि १०० अस्थायी आवास र १ हजार टहरा बनाइदिने

कांग्रेसले जाजरकोट भूकम्पपीडितका लागि १०० अस्थायी आवास र १ हजार टहरा बनाइदिने


काठमाडौं ।

नेपाली कांग्रेसले जाजरकोट भूकम्पपीडितका लागि एक सय अस्थायी आवास र एकहजार टहरा बनाइदिने भएको छ ।

पार्टीको पहलमा एक सय अस्थायी आवास बनाउने र थप एक हजार टहरा बनाउन पार्टीका नेता कार्यकर्ता परिचालित गरिने कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

अस्थायी आवास र टहरा बनाउनेका महामन्त्रीद्वयको नेतृत्वमा हुनेछ । आवास र टहरा बनाउने कार्यका लागि महामन्त्री नेतृत्वबाट खटिएको टोली प्रभावित क्षेत्रमा पुग्ने बताइएको छ । पार्टीको केन्द्रीय सदस्यले जाने टोलीको नेतृत्व गर्नेछ । एउटा टोली एक साता निर्माण कार्यमा खटाइने कांग्रेसले जनाएको छ ।

टोलीमा दुई जना दक्ष र दुई जना अर्ध दक्ष गरी ७ जना खटिनेछन् । भूकम्प प्रभावित क्षेत्रमा निर्माणका कार्यमा खटिने जनशक्ति अभाव रहेकाले कामदारहरु काठमाडौं र अन्य क्षेत्रबाट व्यवस्थापन गर्ने कांग्रेसले जनाएको छ ।

सरकारले भूकम्प पीडितहरुलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । भूकम्पले पूर्ण क्षति वा आंशिक क्षति भई बस्न अयोग्य भएकाहरुलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो ।

सरकारले दिने अनुदान ढिलो भयो भने सरकारी योजना नै असफल हुने कांग्रेसको आशंका छ । सरकारी योजना सफल बनाउन सहकार्य गर्न तयार रहेको कांग्रेसले जनाएको छ । सरकारी अनुदानको रकम पुग्नु अघि नै कांग्रेसले अस्थायी टहरा बनाउने अभियान सुरु गरिसक्ने जनाएको छ ।

उक्त भूकम्पले १३ जिल्लामा क्षति पुर्याएको गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको छ । १५४ जनाको मृत्यु भएको उक्त भूकम्पका कारणले २६ हजार ५५७ घर पूर्ण क्षति र ३५ हजार ४५५ घर भूकम्पबाट आशिंक क्षति पुगेको शाखाले जानकारी गराएको छ ।