अब पुल्चोक आसपासमा ५ जनाभन्दा बढि व्यक्ति भेला हुन नपाइँने

अब पुल्चोक आसपासमा ५ जनाभन्दा बढि व्यक्ति भेला हुन नपाइँने


काठमाडौँ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोक आसपासको क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितद्वारा जारी आदेशमा मंगलबारदेखि सो निषेधाज्ञा लागू हुने बताइएको हो ।

आदेशमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं। ३ पुल्चोक स्थित यु।एन। हाउस र मन्त्रि निवास पुल्चोकको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखी पूर्व तर्फ इनारमोड जाने मूलवाटो, पश्चिम राष्ट्रिय किताबखाना (निजामती), उत्तर तर्फ आन्तरिक राजस्व कार्यालय तथा यु।एन। हाउस र दक्षिण तर्फ राष्ट्रिय मानव अधिकार आयोग एवम् राष्ट्रिय सहकारी विकास बोर्डको चार किल्लाभित्र भित्र निषेधित क्षेत्र घोषणा गरिएको छ ।

आदेशमा भनिएको छ, ’स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३.क) बमोजिम मिति २०८० साल मंसिर ०५ गतेदेखि आगामी ६ महिना सम्मका लागि पाँच जनाभन्दा बढि व्यक्ति भेला जम्मा भई नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ ।’

सहयाक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारका अनुसार मन्त्री क्वार्टर आसपासको क्षेत्रमा यसअघि पनि निषेधाज्ञा कायम रहँदै आएकोमा यसपटक सो दायरालाई केही थपमात्र गरिएको हो ।