निर्वाचन आयोगले तोक्यो राष्ट्रियसभा सदस्यको नयाँ मतभार

निर्वाचन आयोगले तोक्यो राष्ट्रियसभा सदस्यको नयाँ मतभार


काठमाडौं ।

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको रिक्त हुने पदका लागि हुन लागेको निर्वाचनमा नयाँ मतभार तोकेको छ ।

राष्ट्रियसभाका एक तिहाइ सदस्यहरूको पदावधि आउँदो फागुन २० मा सकिँदैछ । पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

आयोगले बुधबार प्रदेश सभा सदस्य, नगरपालिका प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष र उपाध्यक्षको नयाँ मतभार तोक्ने निर्णय गरेको हो ।

मतभार कायम गर्दा पछिल्लो राष्ट्रिय जनगणनाअनुसार कूल जनसंख्यालाई आधार मानेर कायम गर्ने प्रावधान छ ।

हालै राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक भएकाले त्यसबमोजिम मतभार तोकिएको हो ।

उक्त प्रतिवेदनअनुसार प्रदेश सभा सदस्यको मतभार ५३ र नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मतभार १९ कायम गरिएको हो ।

यसअघि प्रदेश सभा सदस्यको मतभार ४८ थियो। यस्तै प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्षको १८ थियो ।