काठमाडौं ।
सूर्यविनायक-रत्नपार्क रुटमा एक महिनामात्र मात्र चलेर स्थगित गरिएको द्रुत बस सेवा आजदेखि फेरि सुरु भएको छ ।
थप ११ वटा बस थपेर साविककै रुटमा आज बिहान साढे आठ बजेदेखि बसहरु चलाइएको छ । यसअघि २५ वटा बस चलाइएको थियो ।
थप ११ वटा समेत गरी अब रत्नपार्क-सूर्यविनायक रुटमा ३६ वटा बस चल्ने छन् ।
ती बस आज बिहान साढे ८ बजेदेखि तीन–तीन मिनेटको अन्तरमा सूर्यविनायकबाट रत्नपार्क प्रस्थान गरेका छन् । सूर्यविनायकदेखि रत्नपार्क साढे १० बजेसम्म चल्ने र दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म रत्नपार्कदेखि सूर्यविनायकसम्म चल्ने गरी तालिका बनाइएको छ ।
यसअघि ती बस रत्नपार्क र सूर्यविनायक दुवै तर्फबाट ५-५ मिनेटको फरकमा छुट्थे र दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म तथा अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म चल्थे । द्रुत बस सेवालाई थप प्रभावकारी बनाउन बसहरु थपिएको र समय तालिकामा पनि केही संशोधन गरिएको मन्त्रालयको भनाइ छ ।
यात्रुहरुलाई छिटो गन्तव्य पुग्न सहज होस् भनेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि द्रुत बस सेवा सुरु गरेको थियो । तर यो सेवा प्रभावकारी नभएपछि एक महिनामै स्थगित गरिएको थियो ।
अरु सार्वजनिक बसलाई रत्नपार्क-सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने बताइएको छ । माइतीघर, कोटेश्वर, जडिबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकहरुमा पनि द्रुत सेवाका बसहरु रोकिननपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्ने मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
रत्नपार्क(सूर्यविनायक रुटमा अरु सार्वजनिक बसहरुले जति भाडा लिन्छन् द्रुत सेवाका बसमा पनि त्यति नै भाडा लाग्ने यातायात व्यवस्था विभागले जनाएको छ ।
प्रतिक्रिया