काठमाडौं महानगरपालिकाले हिलो चौमासिकमा उठायो २ अर्ब राजस्व

काठमाडौं महानगरपालिकाले हिलो चौमासिकमा उठायो २ अर्ब राजस्व


काठमाडौं ।

चालू आर्थिक वर्षको पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाले लक्ष्यको २७.११ प्रतिशत राजस्व संकलन गरेको छ ।

१० अर्ब ८० करोड ७८ लाख २० हजार वार्षिक लक्ष्यमा साउन, भदौ, असोज र कात्तिक गरी ४ महिनामा २ अर्ब ९२ लाख ९६ हजार ९ हजार ७२९ रूपैयाँ राजस्व उठेको राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिए ।

गत अवको सो अवधिमा २६।४९ प्रतिशत राजस्व उठेको थियो । त्यो वर्ष १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ लक्ष्य राखेकोमा २ अर्ब ७५ करोड ९८ लाख ६४ हजार ५६५ रुपैयाँ संकलन भएको थियो ।

शीर्षकगत रुपमा हेर्दा प्रशासनिक सेवा शुल्कमा लक्ष्यको सबैभन्दा धेरै १४७ प्रतिशत धेरै रकम संकलन भएको छ । यसमा २० लाख रुपैयाँ वार्षिक लक्ष्य राखिएको थियो ।

१ अर्ब ५० करोड लक्ष्य राखिएको सम्पत्ति करमा ४१ करोड ८६ लाख ९३ हजार ५५४ रुपैयाँ राजस्व संकलन भएको छ । गएको वर्ष यस शीर्षकमा १ अर्ब लक्ष्य राखिएको थियो । पहिलो चौमासिकमा ५२ करोड ४७ लाख ८० हजार ८४ रुपैयाँ प्रतिशत राजस्व उठेको थियो ।

यस वर्ष २ अर्ब ६६ करोड लक्ष्य राखिएको घर बहाल करमा ८१ करोड ९२ लाख ५१ हजार ८३७ रूपैयाँ राजस्व संकलन भएको छ । यही शीर्षकमा गएको वर्ष २ अर्ब लक्ष्य राखिएको थियो । यस अवधिमा लक्ष्यको ३९.१९ प्रतिशत अर्थात् ७८ करोड ३७ लाख ५ हजार १५३ रुपैयाँ संकलन भएको थियो ।

यस वर्ष १ अर्ब २० करोड लक्ष्य राखिएको घरजग्गा रजिष्ट्रेसन दस्तुरमा १० करोड ९२ लाख ५५ हजार ९९१ रूपैयाँ राजस्व संकलन भएको छ । यस शीर्षकमा गएको वर्ष २ अर्ब ५० करोड रूपैयाँ लक्ष्य थियो । यस शीर्षकमा पहिलो चौमासिक अवधिमा ११ करोड ६८ लाख ३५ हजार ४८६ रुपैयाँ राजस्व संकलन भएको थियो ।

यो वर्ष ससर्त अनुदान चालूतर्फ १ अर्ब ४२ करोड ६७ लाख ४६ हजार रूपैयाँ र ससर्त अनुदान पूँजीगततर्फ २९ करोड ५० लाख रूपैयाँ लक्ष्य राखिएको छ । यी शीर्षकमा क्रमशः ३५ करोड ६६ लाख ११ हजार ५ सय रुपैयाँ र ७३ लाख ७५ हजार प्राप्त भएको छ । गएको वर्ष यी शीर्षकमध्ये चालूतर्फ १ अर्ब २८ करोड ९६ लाख ६ हजार रुपैयाँ र पूँजीगतर्फ २४ करोड १० लाख रुपैयाँ लक्ष्य राखिएको थियो ।

पर्यटन शुल्क १० करोड लक्ष्य राखिएकोमा ५ करोड ९१ लाख ११ हजार ५ सय संकलन भएको छ ।

बाँडफाँटबाट प्राप्त हुने विज्ञापन करबाट लक्ष्यको ४.९५ प्रतिशत अर्थात् ३९ लाख ५७ हजार १८७ रुपैयाँ प्राप्त भएको छ ।