क्यानडाको राजदूतका लागि पौड्यालको नाम सर्वसम्मत

क्यानडाको राजदूतका लागि पौड्यालको नाम सर्वसम्मत


काठमाडौं ।

क्यानडाको राजदूतका लागि सिफारिस भएका भरतराज पौड्यालको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको छ।

समितिको आइतबारको बैठकले परराष्ट्र मन्त्रालयका सचिवसमेत रहेका पौड्यालको नाम अनुमोदन गरेको हो।

समितिमा पौड्यालमाथि सांसदहरूले विभिन्न प्रश्न सोधेका थिए।

उनीमाथि परराष्ट्र सचिव हुँदा सरकारी कर्मचारीका लागि आएको छात्रवृत्तिमा आफ्नै छोरीलाई स्वीट्जरल्याण्ड पठाएको आरोप लागेको थियो।

सांसदहरूले उनीमाथि लागेको लिखित आरोपबारे सुनुवाइका बेला प्रश्न उठाएका थिए। ती प्रश्नहरूको जवाफमा पौड्यालले यस्तो प्रश्नको जवाफ दिनु पर्दा आफूलाई सारै अप्ठ्यारो महसुश भएको बताएका थिए।

‘म परराष्ट्र सचिव भएको मान्छे पदको दुरूपयोग गर्ने भए अरू थुप्रै विषयमा पनि गर्न सक्थें होला। तर मैले मेरो इमान्दारी छोडेको छैन,’ जवाफका क्रममा पौड्यालले भने, ‘यस्तो प्रश्न सोध्दा मलाई सारै अप्ठ्यारो महसुश भयो। मेरी छोरी उनकै बलबुतामा आंशिक छात्रवृत्तिमा नाम निकालेर गएकी हुन्।’

उनले त्यसअघि पनि आफ्नी छोरीले १४ सय विद्यार्थीमध्ये पहिलो नम्बरमा नाम निकालेको बताएका थिए। उनलाई सरकारले गत कात्तिक ३ गते क्यानडाका राजदूतका लागि सिफारिस गरेको थियो।