‘गणतन्त्र फेल भइसक्यो, जनताले सय राजाभन्दा एउटै राजा ठिक भन्न थाले’

‘गणतन्त्र फेल भइसक्यो, जनताले सय राजाभन्दा एउटै राजा ठिक भन्न थाले’


काठमाडौँ ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा झापाको भद्रपुर नगरपालिकामा ७ दलको गठबन्धन एकातिर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक्लै मैदानमा उत्रियो । तर, उपमेयरका रूपमा जनताले पत्याए– राप्रपाकी राधा कार्कीलाई ।

उनी ९ हजार २३० मतका साथ उपमेयरमा विजयी भइन् । स्थानीय तहको निर्वाचनमा राप्रपाले कार्की जस्तै धेरैजसो पालिकामा जित हासिल गरेको थियो ।

स्थानीय तहको निर्वाचनमा मात्र होइन, गत आमनिर्वाचनमा पनि राप्रपाको पक्षमा राम्रै नजिता देखियो । प्रतिनिधिसभामा अहिले राप्रपा १४ सिटसहित पाँचौँ ठुलो दलका रूपमा छ । जबकि अघिल्लो कार्यकालमा राप्रपा १ सिटमा सीमित थियो ।

यसलाई यहाँ प्रस्तुत गर्नुको तात्पर्य भनेको बितेका ५ वर्षमा राप्रपाले जनमतलाई राम्रैसँग तानेको देखिन्छ । साथै, राप्रपाले उठाएको राजतन्त्र र हिन्दु धर्मको मुद्दालाई अँगाल्नेहरूको संख्या पनि बढ्दै गएको पछिल्लो समय देखिएको भिडले देखाएको छ ।

दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा देखिएको राजावादी समूहको भिड र ज्ञानेन्द्र शाह झापा जाँदा उर्लिएको जनसागरले पनि पछिल्ला केही वर्षयता राजावादी समूहको संख्या बढ्दै गएको देखिन्छ ।

एकातिर पूर्वराजाको पक्षमा निर्धक्क बोल्ने वातावरण बन्दै गएको छ भने अर्कातिर भएका राजनीतिक दलप्रति अविश्वासको वातावरण बनिरहेको छ । यो अवस्था किन आयो ? अहिले राजनीतिक माहोल कतातिर केन्द्रित भइरहेको छ ? भन्नेबारे राप्रपाको दृष्टिकोण बुझ्ने प्रयास हामीले गरेका छौँ ।

यसै सेरोफेरोमा हामीले राप्रपाकी नेतृ तथा भद्रपुर नगरपालिकाकी उपमेयर राधा कार्कीसँग वर्तमान राजनीतिक अवस्थाका बारेमा कुराकानी गरेका छौँ ।

पछिल्लो समय राजनीतिक दलप्रतिको बढ्दो वितृष्णा र पूर्वराजाका पक्षमा बढ्दै गएको जनलहरबीचको अन्तरलाई तपाईँ जस्ता राप्रपाका नेताहरूले कसरी हेरिरहनुभएको छ ?

देशमा रोजगार छैन, जताततै विकृति छ । विदेश पलायन हुनेको संख्या दिनप्रतिदिन बढ्दै छ । गणतन्त्र भएको देश, सर्वहाराको देश भनिएको छ । तर, हिजो दुर्गा प्रसाईँको कार्यक्रममा गाउँ–गाउँबाट ओढ्ने–ओछ्याउने बोकेर काठमाडौँ आउनेको लर्को पनि हामीले देख्यौँ । यसले गणतन्त्र र सर्वहाराको देशलाई लज्जित बनाएन ?

यसले गणतन्त्रमा जनताका लागि जे हुनुपर्ने हो, त्यो भएको छैन भन्ने प्रष्ट पार्छ । यो कुरा त जनताको भनाइबाट पनि बुझिन्छ । हिन्दु राष्ट्रसहितको राजतन्त्र र संघीयता खारेजी त हाम्रो एजेन्डा नै हो । अहिलेको माहोल हेर्दा हाम्रो त्यो एजेन्डाले सार्थकता पाउने नै देखिएको छ ।

हामीले ठुलो संघर्ष गरेर ल्याएको यो व्यवस्थालाई जोगाउने र सपार्ने भन्दा पनि परिवर्तन नै गर्न तपाईँहरू बढी उद्यत देखिनुहुन्छ । के यो राम्रो कदम हो ? भएकै व्यवस्थालाई राम्रो बनाउन तपाईँहरू किन लाग्नुहुन्न ?

गाउँघरमा जाँदा सबैको मुखबाट सुनिने एउटै कुरा के हो भने– ‘सय वटा राजा पाल्नुभन्दा त बरु एउटै राजा ठिक ।’ धेरै जनता यो व्यवस्थाबाट वाक्क भइसके । सर्वहाराको नारा लगाएर नेतृत्वमा बस्नेहरूले गरेको व्यवहार पनि देखियो । यो देशलाई अब योभन्दा बढी बिगार्ने कुनै ठाउँ नै बाँकी छैन ।

त्यसैले अहिलेका नेताहरूले यो व्यवस्थालाई जोगाउलान् र सपार्लान् भन्नेमा एक रति पनि विश्वास र भरोसा छैन । गाउँका जनतालाई चर्को ब्याजमा ऋण दिएर त्यसको ब्याजले अहिले नेताहरू पालिएका छन् । जनतालाई दुःख दिएर आफू रमाउने अहिलेका नेताहरूबाट अपेक्षा के नै गर्न सकिन्छ र ?

तपाईँका यी भनाइबाट जनताले के बुझ्ने त ?

यो देश अब एकदमै बिग्रिसक्यो । त्यसैले जनताले पनि गणतन्त्रभन्दा त राजतन्त्र नै ठिक रहेछ भन्ने बुझिसकेका छन् । सीधा भन्ने हो भने गणतन्त्र फेल भइसक्यो, अब राजा नै ल्याउनुपर्छ ।

राजालाई फर्काएर तपाईँहरूले फेरि निरंकुशतालाई निम्तो दिन खोज्नुभएको हो ?

त्यस्तो हुँदैन नि ! अब त राजाले पनि बुझिसकेका छन् । पहिलेकै जस्तो हुने हो भने त जनताले पनि त्यो व्यवस्था खोज्दैनथे होला नि ! अब चाहिएको परिमार्जित राजतन्त्र हो । किनकि घरको माया घरमूलीलाई नै हुन्छ, अरूलाई हुँदैन । त्यसैले राजाको विकल्प हुन सक्दैन । यो आजको आवश्यकता हो । यदि यसो हुन सकन भने यो देश रहने अवस्था छैन ।

तपाईँका अनुसार त यो देशलाई राजाबाहेक अरू कसैले बनाउनै नसक्ने किसिमको कुरा आयो । यसलाई सहजै रूपमा स्वीकार्न सकिएला र ?

तपाईँ आफैँ हेर्नुहोस् न– बाटोमा हिँडेका नागरिकलाई यो राज्यले आज पिट्दै लखेटिरहेको छ । ढाका टोपी, दौरा–सुरुवाल र राष्ट्रिय झन्डा बोकेकालाई लखेट्ने, तर सुन काण्ड, ओम्नी, वाइडबडी, भुटानी शरणार्थी प्रकरण, बालुवाटार प्रकरण, यसको निष्पक्ष छानबिन भएको खै ! साँच्चिकै सर्वहारा वर्गकै सरकार बनेको हो भने त यी सबै कुराको बारेमा खोजबिन गर्नुपर्ने होइन ? तर, केही पनि भएको त देखिँदैन ।

ठुल्ठुला काण्डमा को दोषी छ भन्ने कुरा आमनागरिकसम्मलाई थाहा छ । तर, सरकार निष्पक्ष छानबिन नै चाहँदैन । यो त सरासर गुण्डाराज हो । अहिलेको यो व्यवस्थाबाट केही सीमित व्यक्ति मात्र खुसी छन्, आमजनता त अहिले पनि पीडामै छन् ।

त्यसैको परिणाम हो, अहिले राजतन्त्रको पक्षमा जनता खुला मनले निःस्वार्थ भएर उभिएका छन् र निर्धक्कसँग आवाज उठाइरहेका छन् । अहिलेको व्यवस्था र राजनीतिक दलकै कारण पनि राजतन्त्रको पक्षमा उभिनेहरूको भिड दिनप्रदिन बढिरहेको छ ।