विदेश पठाइदिने भन्दै ११ लाख खाएर भागेका २ जना पक्राउ

विदेश पठाइदिने भन्दै ११ लाख खाएर भागेका २ जना पक्राउ


काठमाडौं ।

वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भनी ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार रोल्पा गङ्गादेव गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौँ गंगबुमा बस्ने ३९ वर्षीय निमराज डाँगीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनका अनुसार डाँगीले पोर्चुगलमा जान प्रतिव्यक्ति १६ लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि एक प्रतिष्ठित होटेलमा मासिक एक लाख २० हजार रुपैयाँ तलब हुन्छ भनी प्रलोभनमा पारी पीडित जोनसन श्रेष्ठसँग पटक–पटक गरी १० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

यस्तै, पाल्पा रब्दिकोट नगरपालिका वडा नं. ४ स्थायी घर भई हाल काठमाडौँ वसुन्धरा बस्ने ३३ वर्षीय चक्र पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पोखरेलले पीडित दीपेश तामाङलाई कुवेत जान दुई लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि मासिक ६० हजार रुपैयाँ तलब हुन्छ भनी प्रलोभनमा पारेका थिए । उनले पटक–पटक गरी एक लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन रहेका पोखरेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुवै जनालाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग तहाचल पठाइएको छ ।