अपूर्व क्षितिजले हारे मुद्दा, १० हजार जरिवाना

अपूर्व क्षितिजले हारे मुद्दा, १० हजार जरिवाना


काठमाडौं।

कमेडियन अपूर्वक्षितिज सिंहलाई काठमाडौं जिल्ला अदालतले १० हजार रुपैयाँ जरिवाना गरेको छ।

आइतबार न्यायाधीश कपिलमणि गौतमको इजलासले उनलाई दोषी करार गर्दै १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला भएको सिंहले बताए।

मुलुकी अपराध संहिताको दफा १६५ सामाजिक रीति स्थितिमा खलल पार्न नहुने कसुरमा उनलाई दोषी करार गर्दै १० हजार जरिवाना गरिएको हो।

उनीविरूद्ध सार्वजनिक शान्तिविरूद्ध, जातीय भेदभाव तथा छुवाछुत र जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावूर्ण व्यवहार गर्न नहुनेसम्बन्धी कसुरमा पनि मुद्दा परेको थियो। ती मुद्दामा भने दाबी नपुगेको भन्दै इजलासले ती कसुरमा थप सजाय गरेको छैन।

उनले यसरी हाँस्यव्यंग्य गरेकै आधारमा दोषी ठहर गर्दा गलत नजिर बसेको बताए। यसरी आदेश आउँदा जसले(जसलाई पनि मुद्दा हाल्न सक्ने भन्दै उनले असन्तुष्टि जनाएका हुन्।

‘मेरो मात्रै कुरा भएको भए भोलिदेखि नै हाँस्यव्यंग्य गर्न बन्द गरूँला, सचेत भएर बोल्छु, काम गरे पनि भिडिओहरू ननिकालुँला। तर यसले गर्दा अरूलाई पनि गाह्रो हुनसक्छ भन्ने मेरो चिन्ताको विषय हो,’ उनले भने, ‘यो नजिर बसेपछि जसले जसलाई पनि सानो कुरामा पनि मुद्दा हाल्दिन मिल्ने भयो। यो विषयलाई मैले उठाउन खोजेको हुँ।’

यसबारे पूर्णपाठ आउन केही समय लाग्ने भएर आफूहरू पुनरावेदनमा जानेरनजाने भन्ने विषयबारे अनिर्णित भएको पनि उनले बताए। उनले कलाकारहरूबाट सहयोगको अपेक्षा राखेको बताएका छन्।

कमेडी क्याफेको आयोजनामा भएको स्ट्यान्डअप कमेडीको भिडिओ २०७९ भदौ १० गते युट्युबमा हालिएको थियो।

‘नेवारको परम्पराु शीर्षकमा राखिएको उक्त भिडिओको २४ घन्टा नबित्दै आलोचना र विरोध भएको थियो। नेवार समुदायका केही व्यक्तिहरूले आफ्नो आस्थामाथि चोट पुर्‍याएको भन्दै विरोध जनाएका थिए। विरोध र आलोचना भएपछि उनले उक्त भिडिओ हटाएर सार्वजनिक रूपमा माफी मागेका थिए।

तर नेवार समुदायका केही व्यक्तिहरूले उनीविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए। उनीहरूले चार वटा शीर्षकमा जाहेरी दिएका थिए। त्यसपछि प्रहरीले सिंहलाई भदौ १२ गते पक्राउ गरेको थियो। त्यसपछि उनी ११ दिन हिरासतमा बसेका थिए।

अपूर्वलाई ११ दिन हिरासतमा बसेपछि कोरोना संक्रमण देखिएको थियो। त्यसपछि प्रहरीले भदौ २३ गते उनलाई हाजिर जमानीमा छाडेको थियो। भदौ २३ गते छुटेका उनलाई कात्तिक १ गते प्रहरीले पुनस् पक्राउ गर्‍यो। सरकारी वकिलको कार्यालय काठमाडौंले २०७९ कात्तिक २ गते मुद्दा दर्ता गरेको थियो।

काठमाडौं जिल्ला अदालतले २०७९ कात्तिक ३ गते न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले पुर्पक्षको लागि २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। धरौटी बुझाएर सिंह छुटेका थिए।