अब ड्युटीमा रहेका प्रहरीले मोबाइल चलाउन नपाउने

अब ड्युटीमा रहेका प्रहरीले मोबाइल चलाउन नपाउने


सुर्खेत ।

कर्णाली प्रदेशका प्रहरीलाई ड्युटीको समयमा मोबाइल चलाउन रोक लगाइएको छ।

प्रहरीबाट उच्च जिम्मेवारीका साथ कर्तव्य पालना होस् भन्ने हेतुले ड्युटीमा खटिएका प्रहरीले मोबाइल चलाउन नपाउने व्यवस्था गरिएको कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) भीम प्रसाद ढकालले बताए।

सुरक्षाजस्तो संवेदनशील कार्यमा खटिएका प्रहरी कर्मचारीले एकमनका साथ आफ्नो जिम्मेवारीमा ध्यान केन्द्रित गराई नागरिकको सुरक्षा होस् भनेर मोबाइल प्रयोग गर्न नपाउने व्यवस्था मिलाइएको उनले बताए।

उनका अनुसार टोली कमाण्डरको हकमा यो नियम लागू हुने छैन। जिम्मेवारी क्षेत्रमा खटिएका कर्मचारीलाई कुनै समस्या वा काम भएमा कमाण्डरको फोनमार्फत सहजीकरण गर्न यो व्यवस्था गरिएको डिआइजी ढकालले बताए।

कर्तव्यपालनाको सिलसिलामा मोबाइल नचालाउँदा आपराधिक गतिविधिको उच्च निगरानी गर्न सकिने, अपराध भएमा तत्काल अनुसन्धान हुने तथा सामाजिक सञ्जालको दुरुपयोग गर्नबाट प्रहरी कर्मचारीलाई बचाउन सकिने उनको भनाइ छ।

प्रहरी कर्मचारी स्वयंको पनि मोबाइल खर्च वचत हुनुका साथै यसले नागरिकमा प्रहरीप्रतिको विश्वास बढ्ने आशा गरिएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयले जिम्मेवारी पूरा गर्ने समयमा मोबाइल नचलाउन नबोक्नका लागि सबै जिल्ला, गण, तालिम केन्द्र, इलाका, चौकीसम्म परिपत्र गरिएको प्रहरी नायब महानिरीक्षक ढकालले बताए।

उनका अनुसार यसका लागि प्रभावकारी ब्रिफिङ र अनुगमन गर्ने व्यवस्था पनि मिलाइएको छ।