जंगली हात्तीकाे आक्रमणबाट ३ जनाकाे मृत्यु

जंगली हात्तीकाे आक्रमणबाट ३ जनाकाे मृत्यु


विराटनगर ।

कोशी प्रदेशका विभिन्न जिल्लामा जंगली हात्तीका कारण मानवीय र भौतिक क्षति बढेको छ ।

केही दिनयता झापा, सुनसरी र मोरङमा गरी हात्तीको आक्रमणबाट तीनजनाले ज्यान गुमाएका छन् ।

गत शुक्रबार झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । हल्दीबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनका चौकीदार ४० वर्षीय धनबहादुर वनलाई हात्तीले आक्रमण गरेको थियो ।

सुनसरीको उपमहानगरपालिका–२ मा गत बिहीबार राति हात्तीको आक्रमणबाट स्थानीय २५ वर्षीय रबिन खड्काको मृत्यु भएको छ । बस्तीमा हात्ती प्रवेश गरेपछि स्थानीय बासिन्दा धपाउन प्रयासमा थिए । त्यही क्रममा पुगेका खड्कालाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनलाई हात्तीले लछारपछार पार्दै कुल्चिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, केही दिनअघि झापाकै दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको पनि हात्ती आक्रमणमा परी मृत्यु भएको थियो । स्थानीय हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा गएका उनलाई हात्तीले आक्रमण गरेको थियो ।

जंगली हात्तीले बस्तीमा प्रवेश गरी स्थानीयको घर भत्काउने, अन्न खाइदिने साथै अरु भौतिक सामग्री नष्ट गरिदिने गरेको गाउँलेले बताएका छन् । मोरङको लेटाङ, बेलबारी, सुनसरीको इटहरी र आसपास क्षेत्रका साथै झापाका विभिन्न स्थानमा हात्ती पसेर क्षति गर्ने गरेका छन् ।