कठ्यांग्रिएर भूकम्प पीडितको मृत्युबारे प्रधानमन्त्रीको ‘उरन्ठेउलो’ जबाफ

कठ्यांग्रिएर भूकम्प पीडितको मृत्युबारे प्रधानमन्त्रीको ‘उरन्ठेउलो’ जबाफ

'जाजरकाेट र रुकुम पश्चिममा चिसाेका कारण मात्रै मानिस मरेका छैनन्'

विकास टाइम्स
609
Shares

काठमाडौँ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा भएको सहभागिताका बारे जानकारी गराउन केही मुख्य सञ्चारमाध्यमका सम्पादकहरूलाई डाके । सम्पादकहरूलाई कोप–२८ को बारेमा ब्रिफिङ गर्न डाकिए पनि समसामयिक राजनीतिदेखि मेडिकल व्यवसायी दुर्गा प्रसाईँको आन्दोलनसम्म कुराकानी भएको थियो ।

त्यस्तै, जाजरकोट भूकम्पका विषयमा पनि सम्पादकहरूले सोधेका प्रश्नको जबाफ प्रधानमन्त्रीले दिएका थिए । सम्पादकहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले भूकम्पबाट घर भत्किएका परिवारका लागि अस्थायी आवास बनाउन एकमुष्ट ५० हजार रुपैयाँ उपलब्ध गराइने घोषणा पनि गरे ।

यसलाई प्रधानमन्त्रीको सकारात्मक पहल र प्रयास पनि मान्न सकिन्छ । तर, उनले भूकम्प प्रभावित क्षेत्रमा चिसोले मृत्यु भएका भनिएका सबैको चिसोका कारण मृत्यु भएको होइन भनेर अभिव्यक्ति दिए । एकमुष्ट ५० हजार उपलब्ध गराउने भनेर पीडितलाई राहत महसुस गराएका उनले चिसोका कारण मृत्युवरण गरेका परिवारको पीडामा भने झन् नुन छर्किने काम गरे ।

उनले भनेका थिए, ‘जाजरकोटमा मृत्यु भएको भनिएका सबै चिसोले मरेका होइनन् । केही त कालगतिले पनि मरेका छन् । मुख्यमन्त्रीसँग कुरा गर्दा त्यही भनेका छन् ।’ साथै उनले चिसोका कारण मृत्यु भएकाहरूको संख्या पनि बढाइचढाइ गरी हल्ला फैलाइएको भन्दै गुनासो पनि गर्न भ्याए ।

होला, कोहीको कालगतिले पनि मृत्यु भएको हुन सक्छ । तर, देशको प्रधानमन्त्रीले यसरी अभिव्यक्ति दिनुचाहिँ उपयुक्त हो वा होइन भन्ने बहसको विषय हो ।

भूकम्पले घर भत्काएका कारण त्रिपालमुनि बस्न बाध्य नलगाड नगरपालिका–८ की २५ वर्षीया शर्मिला चदाराले केही दिनअघि चिसोकै कारण मृत्युवरण गर्नुपर्‍यो । उनी एक महिनाकी सुत्केरी थिइन् । त्यहाँका जनप्रतिनिधिकै भनाइलाई आधार मान्ने हो भने पनि उनको मृत्यु चिसोका कारण कठ्यांग्रिएर भएको थियो ।

त्यस्तै, मंसिर १३ गते कुशे गाउँपालिका–१ की ३ वर्षीया एक बालिकाको चिसोका कारण निमोनिया भएपछि उपचारकै क्रममा मृत्यु भयो । भूकम्पले घर भत्काएपछि त्रिपालमुनि बस्न बाध्य उनका आमाबाले उनलाई बचाउन सकेनन् । मेडिकल रिपोर्टले पनि ती बालिकाको मृत्यु निमोनियाकै कारण भएको पुष्टि गर्छ ।

ती बालिकाको मृत्यु हुनुभन्दा १ साताअघि मात्र निमोनियाकै कारण भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनकी १ महिनाकी छोरीको पनि मृत्यु भएको थियो । यी त केही उदाहरण मात्र हुन् । चिसोले भूकम्प प्रभावित क्षेत्रका जनताको जीवन कतिको कष्टकर बनाएको छ भन्ने कुरा सायद प्रधानमन्त्रीलाई थाहा नहुन सक्छ ।

हुन त ७०–८० वर्षका वृद्धहरूको मृत्यु नभएको होइन । भएको पनि छ । तर, प्रधानमन्त्रीले त्यसलाई कालगति भनेर कसरी भन्न सक्छन् ? घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनिचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन, छेडागाडकी ५६ वर्षीया मनसरी कामीको चिसो बढेपछि नै मृत्यु भएको हो ।

सायद न्यानो लुगा र गतिलो ओत पाएको भए अझै केही वर्ष उनीहरू बाँच्न पनि सक्थे होला । तर, बुढापाकाको चाउरिएको शरीरमा चिसो सिरेटोले हिर्काउँका प्रधानमन्त्रीकै भाषामा भन्दा कालगतिमै मृत्यु भयो ।

प्रदेशका मुख्यमन्त्री र नेताहरूले गराएको ब्रिफिङकै आधारमा गैरजिम्मेवार अभिव्यक्ति दिन सायद प्रधानमन्त्रीलाई शोभा नदेला । अझ राष्ट्रिय विपद् जस्तो संवेदनशील घटनाका विषयमा देशको कार्यकारी प्रमुखले त्यस्तो अभिव्यक्ति दिनु लज्जाको विषय हो ।

हुन त युएईको तातो हावामा सयर गरेर गरेर आएका प्रधानमन्त्रीलाई जाजरकोट र रुकुमपश्चिमको कठ्यांग्रिँदो चिसोको अनुभव नहुन पनि सक्छ । त्यसैले त भूकम्प प्रभावित क्षेत्रमा पीडा र दुःखका बीच चिसोसँग लडाइँ गर्दागर्दै मृत्युवरण गरेकाहरूलाई पनि प्रधानमन्त्री कालगतिको संज्ञा दिँदै सरकारको नालायकीपनलाई डाक्न खोज्दै छन् ।

२ दिनअघिसम्मको आँकडालाई आधार मान्ने हो भने अहिलेसम्म जाजरकोट भूकम्पपछि चिसोको कारण करिब २२ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा जाजरकोटका १९ र रुकुम पश्चिमका ३ जना छन् । चिसोकै कारण बिरामी भएका बालबालिका र वृद्धवृद्धाको संख्या सयौँ पुगिसकेको छ ।

विशेष गरी बढ्दो चिसोमा त्रिपालमुनि बस्नुपर्ने बाध्यताका कारण वृद्धवृद्धादेखि बालबालिका तथा सुत्केरीहरू बढी प्रभावित भएका छन् । अहिले पनि जाजरकोट तथा रुकुम पश्चिममा हजारभन्दा बढी सुत्केरी र हजारौँको संख्यामा बालबालिका तथा वृद्धवृद्धाहरू त्रिपालमुनि छन् ।

यदि तत्काल कुनै गतिलो ओतको व्यवस्था गर्न सकिएन भने भूकम्प प्रभावित क्षेत्रमा अवस्था भयावह हुन सक्ने अनुमान सहजै लगाउन सकिन्छ ।