परराष्ट्रमन्त्री शिशिर खनालको बेइजिङ भ्रमणबाट चीन के चाहन्छ ?

परराष्ट्रमन्त्री शिशिर खनालको बेइजिङ भ्रमणबाट चीन के चाहन्छ ?


काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आइतबार सुरु गर्ने चीनको चारदिने औपचारिक भ्रमणलाई बेइजिङले नेपालको नयाँ सरकारसँग सम्बन्ध थप सुदृढ बनाउने अवसरका रूपमा लिएको संकेत दिएको छ ।

चीनले विशेषगरी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजनाको कार्यान्वयनमा प्रगति, राजनीतिक विश्वासको विस्तार तथा व्यावहारिक सहकार्यलाई अगाडि बढाउने अपेक्षा व्यक्त गरेको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता लीन चियानले नियमित पत्रकार सम्मेलनमा नेपालसँगको सम्बन्धलाई बेइजिङले उच्च प्राथमिकतामा राखेको बताउँदै मन्त्री खनालको भ्रमणलाई दुई देशबीचको रणनीतिक साझेदारीलाई थप मजबुत बनाउने अवसरका रूपमा हेरेको बताए ।

उनले चीन र नेपाल परम्परागत रूपमा घनिष्ठ तथा मैत्रीपूर्ण छिमेकी मुलुक भएको उल्लेख गर्दै सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशले पञ्चशीलका सिद्धान्तको पालना गर्दै एकअर्काको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान तथा समर्थन गर्दै आएको बताए ।

प्रवक्ता लीनले सन् २०१९ मा चिनियाँ राष्ट्रपति Xi Jinping को नेपालको ऐतिहासिक राजकीय भ्रमणपछि द्विपक्षीय सम्बन्ध ‘विकास र समृद्धिका लागि रणनीतिक साझेदारी’ को नयाँ चरणमा प्रवेश गरेको स्मरण गरे ।

उनले हालै नेपालमा सम्पन्न निर्वाचन र त्यसपछि बनेको नयाँ सरकारप्रति चीनले स्वागत र बधाई व्यक्त गरिसकेको उल्लेख गर्दै नेपालमा स्थायित्व, एकता र समृद्धि कायम होस् भन्ने चीनको चाहना रहेको बताए ।

“चीनले नेपालसँगको सम्बन्धलाई ठूलो महत्त्व दिन्छ । हामी यो भ्रमणलाई नेपालको नयाँ सरकारसँग राजनीतिक विश्वास बढाउने, व्यावहारिक सहयोगलाई अझ गहिरो बनाउने तथा चीन–नेपाल रणनीतिक साझेदारीलाई अगाडि बढाउने अवसरका रूपमा प्रयोग गर्न चाहन्छौं,” लीनले भने ।

उनले विशेषगरी बीआरआईअन्तर्गतका सहमति भएका परियोजनाको निर्माण र कार्यान्वयनलाई समयमै अघि बढाउन दुवै पक्षले मिलेर काम गर्ने अपेक्षा रहेको पनि स्पष्ट पारे ।

मन्त्री खनालको बेइजिङ भ्रमणमा बीआरआई कार्यान्वयन, पूर्वाधार सहकार्य, व्यापार तथा कनेक्टिभिटी, ऊर्जा, पर्यटन र दुई देशबीचको राजनीतिक संवाद प्रमुख एजेन्डा बन्न सक्नेछन् । चीनको पछिल्लो अभिव्यक्तिले नयाँ नेपाली सरकारसँग सम्बन्धलाई थप संस्थागत बनाउने र बीआरआई परियोजनालाई कार्यान्वयनको चरणमा लैजाने बेइजिङको प्राथमिकता झल्किएको विश्लेषण गरिएको छ ।

रास्वपा सरकारमा आएपछि परराष्ट्रमन्त्री पहिलोपटक उत्तरी छिमेकीको भ्रमण गर्न लागेका छन् । त्यसअघि खनालले दक्षिणी छिमेकी भारतको भ्रमण गरेका थिए ।