कपिलवस्तु । लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा छापा मार्न पुगेको प्रहरीले कपिलवस्तुको वाणगंगाबाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको छ ।
शनिबार दिउँसो करिब २ बजे वाणगंगा नगरपालिका–३ राजापानीस्थित राधाकृष्ण नास्ता पसलमा इलाका प्रहरी कार्यालय पिपरा र लागुऔषध नियन्त्रण ब्युरो भैरहवाबाट खटिएको संयुक्त टोलीले छापा मारेको थियो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक मनोहर भट्टका अनुसार पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–११ का २६ वर्षीय सलाउदिन मुसलमान र वाणगंगा नगरपालिका–६ का २९ वर्षीय उमेश थारु छन् ।
प्रहरीले खानतलासी गरी नियन्त्रणमा लिन खोज्दा दुवै जना भाग्न खोजेपछि लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी नायब निरीक्षक सागर भट्टराईले आफूसँग रहेको ब्यारेटा पेस्तोलबाट दुई राउन्ड हवाई फायर गरेका थिए । त्यसपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको थियो ।
खानतलासीका क्रममा उनीहरूको साथमा रहेको कालो प्लास्टिकबाट २४ ग्राम १८० मिलिग्राम र उनीहरूले प्रयोग गरेको भारतीय नम्बर प्लेटको यूपी ५५ एभी २६५९ नम्बरको मोटरसाइकलको सिटमुनि लुकाइएको अवस्थामा थप ४ ग्राम ६४० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद ब्राउन सुगरको कुल शुद्ध तौल २८ ग्राम ८२० मिलिग्राम रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया