जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई हरायो

जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई हरायो


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले हराएको छ ।

जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखरा २० ओभरनै खेलेर ९ विकेट गुमाएर १३८ रनमा रोकियो ।

पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए । उनले २४ बलमा पाँच चौका प्रहार गरे । विपिन आचार्य २० रन बनाए भने किरण ठगुन्नाले पाँच बलमा १५ रन जोडे ।

पोखराका अन्य ब्याटरले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन् । शाकिब अल हसन ९, महेदी हसन ८, अर्जुन घर्ती ७, चामिका करुणारत्ने ४, दिनेश खरेल ३ र मोहम्मद सैफुद्दिन शून्य रनमा आउट भए ।

जनकपुरका मोइन अलीले चार ओभरमा १३ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । हरमित सिंह र सैफ हसनले दुई-दुई तथा ललित राजवंशी र जेम्स नीशमले एक-एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

जनकपुरका लागि तृतराज दासले सर्वाधिक ६१ रन बनाए । उनले ५५ बलमा सात चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, मोइन अलीले १६ बलमा २१ रन बनाए ।

अभिषेक तिवारीले पाँच बलमा एक चौका र २ छक्कासहित अविजित २४ रन बनाए । जेम्स निसमले ११ रन बनाए ।

जनकपुरका अन्य ब्याटरले भने उल्लेख्य योगदान दिन सकेनन् । कप्तान हरमित सिंहले नौ, अनिल साहले नौ र सैफ हसनले एक रन बनाए ।

पोखराका लागि शाकिब अल हसनले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए । उनले तीन ओभरमा चार रन मात्रै खर्चिए । मेहेदी हसनले एक तथा मोहम्मद सैफुद्दिनले एक-एक विकेट लिए ।