लुम्बिनी ।
भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव सम्पन्न गरेको छ ।
शुक्रबार सम्पन्न महोत्सवमा बौद्ध धर्मलाई केन्द्रमा राखी भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा तथा परम्परालाई देखाइएको थियो ।
महोत्सवको मुख्य आकर्षण भारतको लद्दाखस्थित हेमिस मठका भिक्षु कलाकारहरुले तयार पारेको ‘स्याण्ड मण्डला’ चित्रकला प्रदर्शनी, प्रख्यात फोटोग्राफर बेनोय बहलका तस्वीरमा आधारित फोटो प्रदर्शनी, भारतीय र नेपाली परिकारसहितको स्ट्रिट फुड फेस्टिभल र साँस्कृतिक कार्यक्रम रहेको थियो ।
बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित भारत–नेपाल साँस्कृतिक महोत्सवको उद्घाटन नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री सूदन किराँती र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संयुक्त रूपमा गरेका थिए ।
समारोहमा बौद्ध सम्पदा स्थलका तस्बिर समेटिएको फोटो प्रदर्शनीलाई समावेश गरिएको थियो । प्राचीनकालदेखिको बौद्ध धर्मसँग सम्बन्धित स्मारक र कला सम्पदाबारे जानकारी सजाइएको फोटो प्रदर्शनीसँगै भारतको लद्दाखस्थित हेमिस मठका भिक्षु कलाकारहरूको सीप र शिल्पकारिता प्रस्तुत गरिएको थियो ।
राजदूत श्रीवास्तव, मन्त्री किराँती र मुख्यमन्त्री चौधरीले स्यान्ड मण्डला चित्रकला प्रदर्शनीको पनि संयुक्त रूपमा उद्घाटन गरे । स्यान्ड मण्डला चित्र एक परम्परागत बौद्ध कला हो, जसमा रंगीन बालुवाको प्रयोग गरी जटिल डिजाइनहरू सिर्जना गरिन्छ ।
शुक्रबार बेलुका एक सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । उक्त कार्यक्रममा भारत र नेपालका कलाकारहरूले कला प्रस्तुत गरे ।
महोत्सवमा भारतको लेहस्थित थिक्से मठका कलाकारहरूको चाम नृत्य, दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका कलाकारहरूको भरतनाट्यम्, लुम्बिनीका स्थानीय कलाकारको थारु नाच र नेपालको सुकर्म ब्यान्डले प्रस्तुत गरेको सितार वादनले दर्शक मन्त्रमुग्ध भएका थिए । सांस्कृतिक कार्यक्रमपछि लुम्बिनी विश्व शान्ति तथा सद्भाव आगन्तुक केन्द्रमा स्ट्रिट फुड फेस्टिभलको आयोजना गरिएको थियो ।
उक्त फुड फेस्टिभलमा पकाैडा, थारु शैलीको तरुवा, साबुदाना वडा, नेवारी परिकार बारा, जेरी र अन्य विभिन्न प्रकारका भारतीय र नेपाली परिकारहरू राखिएका थिए ।
यसअघि बिहानी सत्रमा यस महोत्सवकै एक हिस्साका रूपमा लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘सामुदायिक विकास र विश्वव्यापी कल्याणमा बौद्ध शिक्षाको प्रभाव अन्वेषण’ शीर्षकको एक शैक्षिक गोष्ठीको पनि आयोजना गरिएको थियो ।
बौद्ध दर्शनबारे जानकार भारत र नेपालका प्रख्यात विद्वानहरूले उक्त गोष्ठीमा भाग लिई आधुनिक संसारमा बौद्ध शिक्षाको सान्दर्भिकताका बारेमा कार्यपत्रमार्फत् विचार राखे ।
यस्तो महोत्सव अब हरेक वर्ष लुम्बिनीमा आयोजना गर्ने र साझा सम्पदा, परम्परा र संस्कृति मनाउन भारत र नेपालका मानिसहरूलाई एकै ठाउँमा ल्याउन सहयोग गर्ने भारतीय दूतावासको भनाइ छ ।
समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सूदन किराँतीले महोत्सवले २ देशबीचको बलियो सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई उजागर गरेको बताए । स्यान्ड मण्डला चित्रकला प्रदर्शनी तथा फोटो प्रदर्शनी आगन्तुकहरूका लागि महोत्सवको दोस्रो दिन अर्थात मंसिर २३ गते पनि खुला रहने भारतीय दूतावासले बताएको छ ।
प्रतिक्रिया