ध्रुवे हात्ती फेरि गाँउ पस्न थाल्यो, रेडियोकलर जडान गर्ने तयारी

ध्रुवे हात्ती फेरि गाँउ पस्न थाल्यो, रेडियोकलर जडान गर्ने तयारी


चितवन ।

चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गर्ने भएको छ ।

वन क्षेत्रबाट बस्ती प्रवेश गर्न थालेपछि निकुञ्जले हात्तीलाई रेडियोकलर जडान गरेर निगरानी गर्न लागेको हो ।

विगत केही वर्षयता शान्त रहेको ध्रुवे तिहारअघिबाट बस्तीमा पस्न थालेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

उनका अनुसार रेडियो कलर जडानका लागि निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठको नेतृत्वमा प्राविधिक टोली परिचालन गरिएको छ ।

हात्तीलाई रेडियोकलर जडान गर्नका आवश्यकताअनुसार जनशक्ति परिचालन गर्ने गरी टोली खटाइएको छ । उनले भने “हात्ती देखिएमा खबर गर्न निकुञ्ज आसपास बसोबास गर्दै आएका समुदाय र निकुञ्ज सुरक्षार्थ रहेका सेनाको पोष्टमा सूचना गरिएको छ ।”

अरु हात्तीभन्दा चलाख भएकाले ध्रुवेलाई रेडियोकलर जडान गर्न कठिन भएको उनले बताए। हात्तीलाई खुल्ला चौर र घाँसे मैदानमा लगरे बेहोस् बनाइ यो कलर जडान गर्नुपर्ने भएकाले समस्या हुँदै आएको उहाँले जानकारी दिए ।

यस हात्तीले बस्तीमा पसेर घर भत्काउने, भण्डारण गरिएको खाद्यान्न नष्ट गर्ने गरेको पनि तिवारीले बताए । ध्रुवेले विगतमा मानवीय क्षतिसमेत गरेको थियो । यसलाई रेडियोकलर जडान गरेपछि हात्ती कहाँ छ र के गर्दैछ भन्ने विषयमा निकुञ्जले सहजरुपमा निगरानी गर्न सक्ने छ ।

उनले भने, “रेडियोकलर जडान गरेसँगै बस्ती पस्न लागेको भए जनतालाई सूचना गर्न सहज हुनेछ ।” यस हात्तीले अहिलेसम्म २० जनाभन्दा बढी मानिसको ज्यान लिइसकेको निकुञ्जकोे अनुमान छ ।