इलाम अस्पतालको भान्सामा आगलागी, ५ वटा ग्यास सिलिण्डर पड्किए

इलाम अस्पतालको भान्सामा आगलागी, ५ वटा ग्यास सिलिण्डर पड्किए


इलाम ।

इलाम अस्पतालको क्वाटरसँगै रहेको भान्सा घरमा आगलागी भएकाे छ । जिल्ला स्वास्थ्य कार्यालयभन्दा माथि रहेको अस्पतालको क्वाटरसँगै जोडिएको भान्साघरमा आगलागी भएको हो ।

भान्साघरमा कोही नभएको अवस्थामा मङ्गलबार दिउँसो दुई बजेतिर धुवाँ आएको देखिएपछि त्यहाँ पुग्दा भित्र आगो लागिरहेको पाइएको प्रत्यक्षदर्शीले बताएका छन् ।

आगो सुरु भएलगतै इलाम नगरपालिकाको दमकलाई खबर गरे पनि दमकल जाने बाटो साँघुरो हुँदा आगो नियन्त्रणमा ढिलाइ भएकाे थियाे तर अहिले नियन्त्रणमा आइसकेकाे छ ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो निभाएका थिए । आगोका कारण उक्त भान्साघरमा राखिएका पाँच वटा ग्यास सिलिण्डर पड्किएको आवाज आएको स्थानीयले बताएका छन् ।

आगलागीबाट भान्साघरमा राखिएका अन्य सामग्री जलेर नष्ट भएकाे छ  ।

आगोबाट कुनै मानवीय क्षति भने हुन पाएन । नजिकै आगो लागेपछि अस्पतालको प्रसूति वार्डमा रहेका बिरामीलाई भने अस्पतलाको इमरजेन्सी कक्षमा सारिएको थियाे । आगलागीको कारण र क्षतिका विषयमा जानकारी आउन बाँकी रहेकाे छ ।