अस्पतालबाट बेपत्ता सङ्गमको कपडा र परिचयपत्र पुलमा फेला, सेती नदीको ड्याम खोल्ने तयारी

अस्पतालबाट बेपत्ता सङ्गमको कपडा र परिचयपत्र पुलमा फेला, सेती नदीको ड्याम खोल्ने तयारी


पोखरा ।

पोखराको मणिपाल शिक्षण अस्पतालबाट सम्पर्कविहीन तनहुँका एक बिरामी युवकलाई खोज्न सेती नदीको ड्याम खोलिने भएको छ ।

उपचारका लागि मणिपाल अस्पतालमा भर्ना भएका १९ वर्षीय सङ्गम मिश्र गत सोमबार साँझ साढे ६ बजेदेखि सम्पर्क विहीन छन् ।

मणिपालको आकस्मिक कक्षमा उपचाररत सङ्गम आफ्ना बुवा हरिप्रसाद औषधी लिन गएका बेला अस्पतालबाट निस्किएका थिए । ज्वरो आएपछि उनीलाई उपचारका लागि भर्ना गरिएको थियो ।

मणिपाल अस्पतालबाट नदीपुरतर्फ आउने सेती नदीको झोलुङ्गे पुलको बिचमा सङ्गमले लगाएका कपडा र परिचयपत्र भेटिएका छन् । उनले नदीमा हाम फालेको हुन सक्ने अनुमान गर्दै खोजीका लागि सेती नदीको ड्याम खोल्न लागिएको हो ।

ड्याम खोल्नुपर्ने कारणसहित कास्की प्रहरीले सर्वसाधारणका लागि सूचना जारी गरेको छ । प्रहरीले बिहीबार मध्याह्न १२ देखि ४ बजेसम्म ड्यामभन्दा तलका सबै नागरिकलाई सतर्क रहन भनेको छ ।सङ्गमको परिवारले समेत ड्याम खोली खोजतलास गरिदिन आग्रह गरेको छ ।

कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले ड्याम खोलिने समयमा सतर्क रहन आग्रह गरे । “नदीमा पानीको वहव बढ्न सक्ने हुँदा उक्त समयमा नदी वरीपरी काम गर्ने तथा आवतजावत गर्ने मानिसहरू चनाखो भई कार्य गर्नु हुन, नदीको किनारमा नजानु हुन र सुरक्षा सतर्कता अपनाउनु हुन अनुरोध छ,” उनले भने ।