रथ यात्राबाट हराएकी ६ वर्षीया राखीको शव फेला, बलात्कारपछि हत्याको आशंका

रथ यात्राबाट हराएकी ६ वर्षीया राखीको शव फेला, बलात्कारपछि हत्याको आशंका


धनुषा । 

धनुषामा बुधबार साँझदेखि हराइरहेकी बालिकको शव पोखरीमा फेला परेको छ।

सबैला नगरपालिका–९ सतोखरकी ६ वर्षीया राखी यादवको शव पोखरीमा फेला परेको प्रहरीले जनाएको छ।

शवको प्रकृति हेर्दा बलात्कार गरी उनको हत्या भएको देखिएको एक प्रहरीले बताए।

‘तलको भागको कपडा छैन। शरीरमा रगतजस्तो देखिएको छ। संवेदनशील अंगमा चोट देखिएको छ। बलात्कारकै आशंका छ, यसबारे विस्तृत अनुसन्धानपछि खुल्ला,’ उनले भने।

शवको प्रकृतिले घटना शंकास्पद देखिएको तर पोष्टमार्टमपछि मात्रै बलात्कार गरेर हत्या भए÷नभएको खुल्ने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।

उनकाअनुसार राखी विवाहपञ्चमीको अवसरमा मटकोरको लागि निकालिएको रथ यात्रामा ती बालिका बुधवार साँझ आमासँगै गएकी थिइन्। त्यहीँबाट उनी बेपत्ता भएकी थिइन्।

उनी हराएको भोलिपल्ट बिहान ९ बजेतीर प्रहरीलाई घटनाबारे खबर गरिएको थियो। स्थानीयसँगै प्रहरीले खोजतलासको क्रममा बिहीवार बेलुकी ७ बजेतीर पोखरीमा शव फेला परेको डिएसपी अवाले बताए।

उनकाअनुसार अहिले पोखरीको पानी सुकाएर शवको मुचुल्का उठाउने कार्य भइरहेको छ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुईजना स्थानीयलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको डिएसपी अवाले बताए। अनुसन्धानको क्रममै रहेकाले प्रहरीले नियन्त्रणमा लिएकाको परिचय खुलाएको छैन।