प्रधानमन्त्रीले गरे ‘एक्सन रुम’ बाट २ सडकको अनुगमन

प्रधानमन्त्रीले गरे ‘एक्सन रुम’ बाट २ सडकको अनुगमन


काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित कार्यालयमा रहेको ‘एक्सन रुम’ बाट दुई सडक आयोजनाको अनुगमन गरेका छन् ।

उनले सोमबार अपराह्न एक्सन रुममा बसेर नारायणघाट–बुटवल सडक र मुग्लिङ–पोखरा सडक आयोजनाको अनुगमन गरिरहेको मुख्य सचिव डा. बैकुण्ठ अर्यालले जानकारी दिए ।

लामो समयदेखि निर्माणाधीन रहेको दुवै सडक आयोजना ठेकदारको ढिलासुस्तीका कारण निर्माण सम्पन्न भएको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ठेकेदारलाई पटकपटक चेतावनी समेत दिँदै आएको छ ।

डेढदेखि दुई घण्टा लाग्ने नारायणघाट बुटवलको बाटो अहिले चारदेखि पाँच घण्टासम्म यात्रा गर्नुपर्ने बाध्यता छ । मुग्लीनदेखि पोखरासम्मको साँघुर बाटो बिस्तार गर्ने योजनाको काममा पनि ढिलासुस्ती हुँदै आएको गुनासो प्रधानमन्त्री कार्यालयसम्म पुग्दै आएको छ ।

सर्वसाधारणको गुनासो बढेपछि प्रधानमन्त्री प्रचण्डले एक्सन रुमबाट अनुगमन गरेका हुन् । अनुगमनका क्रममा रुममा प्रधानमन्त्रीसँगै मुख्य सचिव अर्याल, प्रधानमन्त्री कार्यालयकै सचिवहरु, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, सचिव केशव कुमार शर्मा सडक विभागका प्रमुख शुशीलबाबु ढकाल उपस्थित छन् ।