हुम्ला ।
दशकयता सडक नपुगेको गाउँबस्ती बिरलै भेटिएलान् । १ दशकअघिसम्म सुनसान रहेका गाउँबस्तीमा अहिले गाडी गुड्छन् । नागरिकले चाहेजस्तो दैनिक नगुडे पनि बिहान बेलुका मानिस ओसार्न र कहिलेकाहीँ समान ओसारपसार गर्ने गरिरहन्छन् ।
गाउँमा पुगेका ती सडक कुनै पनि वैज्ञानिक छैनन् । वातावरणीय प्रभाव मूल्यांकन नगरी आ–आफ्नो प्रचारका निम्ति डोजर चालक तथा सहचालकले नापेका भरमा अधिकांश सडक निर्माण भएका छन् । बिनाइन्जिनियरिङ निर्माण भएका ती सडक हिउँदमा त चल्छन्, तर बर्खामा पूर्ण रूपमा ठप्प हुन्छन् । त्यतिबेला सडक ठप्पमात्र नभई बजारमा सामग्रीकोे अभावले बजारभाउ गरिबको ढाड सेक्ने गरी वृद्धि हुन्छ ।
पर्यावरणको ख्यालै नगरी निर्माण भएका यस्ता सडकले सयौँको घरबास उजाडिदिएको छ । हुम्लालगायत दुर्गमका थुप्रै गाउँबस्ती पहिरोको उच्च जोखिममा छन् । बर्खा लाग्नासाथ उनीहरु घर छाडेर टाढा खर्कपातमा जानुपर्ने अवस्था छ ।
गाउँ गाउँमा बनाइएका ग्रामीण सडकले बस्ती त जोखिममा पार्यो नै, त्योसँगै मौलिक सम्पदासमेत नष्ट गरेको पाइन्छ । पहिले गाउँका हरेक डाँडा, पाखा र बाटो छेउमा चौतारा, धर्मशाला र देउराली हुन्थे । तर, हिजोआज ती सम्पदा देख्न मुस्किल पर्छ ।
विकासका नाममा भएको ‘डोजरे विकास’ले महत्वपूर्ण इतिहास बोकेका सम्पदा नष्ट गरिदिएको छ । पहिले भरियाको काम गर्ने समयमा बोकिने भारी बिसाउने ठाउँ छैन, भरिया, स्थानीयबासीले थकाइ मेटाउने चौतारा, बटुवाले बास बस्ने पाटीपौवा र धर्मशालाको अस्तित्व नै समाप्त भएको देखिन्छ ।
२०६७/०६८ सालतिर साविकको कर्णाली अञ्चलको हुम्ला पुग्न कर्णाली चिसापानीबाट निरन्तर ७ दिन हिँड्नुपर्ने हुन्थ्यो । त्यहाँ बाटोघाटोमा कलात्मक चौताराहरू थिए, पाटीपौवा थिए, अहिले ती केही छैनन् । सडकले हप्ता दिन लगाएर पुग्ने गन्तव्य त छोट्उयाइदियो । तर, मौलिक सम्पदाको पहिचान भने मेटाइदियो ।
त्यति मात्र हाेइन, हुम्लाको सदरमुकाम सिमकोट जाँदा वा बाजुराको सदरमुकाम मार्तडी जाँदा पनि बाटोका दर्जनौँ स्थानमा वरपिपलका चौतारा, ढुंगेधारा र धर्मशाला भेटिन्थे । सडक निर्माणका क्रममा ती सबै पुरिएका छन् ।
गाउँगाउँबाट एकै दिनमा सदरमुकाम जान आउन नसकिने र अहिलेको जस्तो ठाउँ–ठाउँमा बास बस्ने होटल नहुँदा आफूहरू धर्मशालामा बास बस्ने गरेको हुम्ला अदानचुली-१ का ६६ वर्षीय धनमल थापाको भनाइ छ ।
पहिले हप्ता दिन हिँडेर चिसापनी बजार जाने र त्यहाँबाट ठेटुवालगायत लत्ताकपडा ल्याउने जनाउँदै अहिले कच्ची सडक भएकाले एक दिन लाग्ने गरे पनि पछि पक्की सडक भए थोरै घन्टामै आउजाउ सकिने भएको उनको भनाइ छ ।
गाउँमा कुनै पनि सरकारी काम नहुने हुँदा जिल्ला सदरमुकाममै जानु परेको स्मरण गर्दै अहिले सबै काम गाउँमा हुन थालेकामा खुसी भएको उनको भनाइ छ । गाउँमा सडक आएपछि धेरै सहज भए पनि मौलिक सम्पदा संरक्षण गर्नतर्फ कसैको ध्यान नगएकोप्रति भने उनको गुनासो छ ।
मौलिक सम्पदा संकटमा पर्दै गएको थापाको भनाइ छ । गाउँगाउँमा सडक आए पनि नागरिकले चाहेका बेला चढ्न नपाउनाले सुविधा नभएको स्थानीय प्रदीप महताराको भनाइ छ ।
‘गाउँमा सडक आयो, धेरै राम्रो भयो । हामीले धेरै दुःख पाएका थियौँ, यसरी विकास होला भन्ने कल्पना पनि गर्न सकेका थिएनौँ,’ उनले भने, ‘तर, हाम्रो सम्पदा यसरी मेटिएलान् भन्ने पनि थाहा थिएन, हाम्रा पालामा वरपिपल रोप्ने, चौताराे बनाउने, धर्मशाला, पाटी पौवा बनाउने चलन थियो । त्यो चलन अहिले छैन । नयाँ पुस्ताले बनाउनुको सट्टा संरक्षण पनि गर्न सकेनन् । अहिले कहीँकतै भेटिँदैनन्, उतिबेला हामीले बनाएका चौतारी, बास बस्ने धर्मशाला र पाटीपौवा केही छैन ।’
अदानचुली-१ का रुपचन्द्र थापाले भने बाटोबाटोमा वरपिपल रोपेर चौतारी बनाउँदा पुण्य कमाइने मान्यता राखेर वरपिपल लगाउने गर्थे र आफूहरूले पनि त्यस्तै गर्दै आएको भए पनि अहिले त्यो चलन हराएको बताए । गाउँका हरेक पाका पुराना मान्छेले अहिले पनि त्यो चलनलाई निरन्तरता दिए पनि नयाँमा त्यो सोच नै नभएको उनको भनाइ छ ।
बाटोघाटोमा पुराना कलात्मक र ऐतिहासिक ढुंगाकाे चाैताराे, पाटीपाैवा बनाउने प्रचलन थियो र राखिएका पनि थिए । तर, अहिले सडक बनाउँदा तिनकाे संरक्षण गर्नुको सट्टा फुटाएर अन्य काममा प्रयोग गरिएको पाइएको छ ।
उनी भन्छन्, ‘अहिलेकाे पुस्तालाई विकास चाहिएको छ, घरघरमा सडक चाहियो, धारा चाहियो, सबैथोक चाहियो । तर सार्वजनिक ठाउँमा भएको सबै विनाश गर्ने परिपाटी भयो, वरपिपल लगाउनु त राम्रो कुरा हो नि ! पाटी पौवा पनि राम्रो हो, मान्छे स्वार्थी बने, धर्मकर्म मान्न छोडे, विकासका नाममा सबै विनाश गर्न थाले । हामीले बटुवाका लागि पानी खान कुवा संरक्षण गर्यौँ, ढुंगे धारो बनायौँ, अहिले त सबै भत्काइदिए ।’
आधुनिकतालाई अँगाल्नुका साथै मौलिक सम्पदाको प्रवर्द्धन र संरक्षण आवश्यक रहेको भए पनि अहिलेका नयाँ स्थानीय सरकारले त्यस्ता परम्परागत कुरा जाेगाउनेतर्फ ध्यान नदिएको हरेक गाउँगाउँका स्थानीयकाे गुनासो छ ।
आफ्नो नामका लागि भए पनि हरेक गाउँमा प्रतिधिक स्टिमेटबिनै सडक काट्ने तर त्यहाँ भएका प्राकृतिक,धार्मिक तथा ऐतिहासिक महत्वका सम्पदाहरूको संरक्षणमा ध्यान नदिने, गरिब पीडितहरूको जग्गा जमिनको ध्यान नदिने, यसले पछि पार्ने नकारात्मक प्रभावकाे मूल्यांकन नगरी मनपरी तरिकाले सडक बनाएपछि अहिले हरेक गाउँबस्ती मरुभूमि बन्न थालेका छन् ।
प्रतिक्रिया