ढाकामा रेलको डिब्बामा आगजनी हुँदा ४ जनाको मृत्यु

ढाकामा रेलको डिब्बामा आगजनी हुँदा ४ जनाको मृत्यु


ढाका ।

बंगलादेशको राजधानी ढाकामा मंगलबार रेलको डिब्बामा आगजनी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

सो घटना बिहान ०५ बजेतिर भएको हो । प्रतिपक्षी दलले आगामी महिना हुने राष्ट्रिय निर्वाचन अगावै सरकारले राजीनामा दिनुपर्ने माग गर्दै आव्हान गरेको देशव्यापी बन्दका क्रममा सो आगजनी भएको बताइएको छ ।

तीन वटा अग्नि नियन्त्रक घटनास्थलमा पुगेका छन् । रेलबाट बाहिर निस्कने क्रममा थुप्रै मानिसहरू घाइते भएको रेलमन्त्री नुरुल इस्लाम सुजनले पत्रकारलाई जानकारी दिएका छन् ।

बंगलादेशको प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) र यसका सहयोगीहरूले जनवरी ७ को आम निर्वाचन नजिकिएसँगै मंगलबार बिहानदेखि साँझसम्म हडतालको आव्हान गरेका छन् ।

आन्दोलनले ढाका र अन्य ठाउँमा अक्टोबरको अन्त्यदेखि लगातार प्रहरी तथा मजदुर बीचको घातक झडप बढाउदै लगेको छ । साथै सवारीसाधनको तोडफोड र आगजनीका यस्ता थुप्रै घटना निम्त्याएको छ ।