गुप्ताकाे १४ करोड ८१ लाख भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावेदन

गुप्ताकाे १४ करोड ८१ लाख भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावेदन


काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ करोड ८१ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

विशेष अदालत काठमाडौँमा दायर भएको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी आज (बिहीबार) सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो ।

विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा अख्तियारको निर्णय अनुसार आज सर्वोच्चमा पुनरावेदन गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

मदनप्रसाद गुप्ताले सार्वजनिक सेवा अवधिमा १४ करोड ८१ लाख ८९ हजार २३ रुपियाँ बराबरको सम्पत्तिको स्रोत खुलेको नदेखिएको अख्तियारको ठहर छ ।

अख्तियारका अनुसार गुप्ता तथा उनका परिवारका सदस्यहरू समेतले आय आर्जन गरेको रकम चार करोड ५४ लाख ७२ हजार २४६ रुपियाँको तुलनामा विभिन्न शीर्षकमा गरिएका खर्च तथा लगानी १९ करोड ३६ लाख ६१ हजार १६९ रुपियाँ देखियो प्रवक्ता घिमिरेले जानकारी दिए ।

उनका अनुसार गुप्ताको आयभन्दा बढी खर्च तथा लगानी गरेको १४ करोड ८१ लाख ८९ हजार २३ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको हुँदा उक्त सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको अनुसन्धानबाट खुलेको छ ।