आफूलाई मकैको खोयाले हान्ने रानाभाटलाई कारबाही नगर्न रवि लामिछानेकाे आग्रह

आफूलाई मकैको खोयाले हान्ने रानाभाटलाई कारबाही नगर्न रवि लामिछानेकाे आग्रह


काठमाडौं।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मकैको खोयाले आक्रमण गरेको आरोपमा ३७ वर्षीय युवा सन्तोष रानाभाट प्रहरी नियन्त्रणमा छन्।

लमजुङको राइनास नगरपालिका– ८ घर भएका रानाभाट पोखरा बस्दै आएका छन्। केही समय अघिसम्म अटो चलाउने रानाभाट अहिले ड्राइभिङ पेशामा आबद्ध भएको प्रहरीले बताएका छन्।

उनले रवि लामिछानेलाई लक्ष्य गर्दै खोया आक्रमण गरेको आरोप अस्वीकार गरेको कास्की प्रहरी प्रमुख डिएसपी मोहन थापाले बताए।

‘हामीले सोधपुछ गर्दा उहाँ (रानाभाट) ले मकैको खोयाले प्रहार गरेको होइन, बसेको ठाउँबाट उछिट्टिएको भनेका छन्,’ थापाले भने, ‘परिचालित हो कि होइन भनेर छानबिन गर्न नियन्त्रणमा लिएका हौं।’

लामिछानेले भने आफूलाई मकैको खोयाले आक्रमण गरे पनि रानाभाटलाई कुनै कारबाही नगर्न प्रहरीलाई आग्रह गरेका छन्।

स्टेजमा मन्तव्य राखिरहेका बेला मकैको खोया मगाएर देखाउँदै लामिछानेले आफू जनताको ढुङ्गा, खोया, गाली, ताली सबै सहन तयार भएर नै राजनीतिमा आएकाले कारबाही नगर्न उनले आग्रह गरेका हुन्।

‘सुरक्षा निकायका साथीहरू, उहाँलाई छाडिदिनुहोला, ससम्मान घर पुर्‍याइदिनुहोला,’ लामिछानेले आफूतर्फ फालिएका मकैको खोया देखाउँदै मञ्चबाट भने, ‘उहाँलाई कुनै समस्या छ भने पनि समाधान गर्न सबैभन्दा अग्रपंक्तिमा बस्ने बाचा गर्छु।’