शिव शिखर सहकारीको नाममा रहेको सम्पत्ति लिलामीबाट रोक्न माग

शिव शिखर सहकारीको नाममा रहेको सम्पत्ति लिलामीबाट रोक्न माग


काठमाडौं ।

समस्याग्रस्तमा सूचीकृत शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका वचतकर्ताहरूले सहकारीको नाममा रहेको सम्पत्ति लिलामीबाट रोक्न माग गरेका छन् ।

उनीहरूले सहकारीको नाममा रहेको सम्पत्ति वचतकर्ताहरूबाट संकलित रकमबाट खरिद गरेको सम्पत्ति भएको भन्दै लिलामीबाट रोक्न माग गरेका हुन् । संस्थाले वभिन्न १३ वटा बैंकबाट करिव ७ अर्ब रुपैयाँ ऋण लिएको छ ।

संस्थाको नामको सम्पत्ति धितोमा राखी बैंकबाट ऋण लिएको सहकारीले ऋण तिर्न नसकेपछि हाल बैंकहरूले धमाधम लिलामीको प्रकियामा अगाडि बढाउने तयारी गरेका छन् । सहकारीको सम्पत्ति लिलामी हुने भएपछि वचतकर्ताहरू तानवमा छन् । उनीहरू बैंकले लिलाम गर्न लागेको सम्पत्ति वचतकर्ताहरूको भएको भन्दै तत्काल लिलामी प्रक्रिया रोकेर उक्त सम्पत्तिलाई कुनै व्यापारी प्रतिष्ठानहरूले किन्ने र वचत रकम फिर्ता गरिदनुपर्ने माग राखेका छन् ।

बैंकले सबै सम्पत्ति लिलामी गरेर आफूहरूको लगानी नउठ्ने भन्दै उनीहरू चिन्तित छन् । यस्तै चल्दा चल्दैको उद्योगहरू बन्द भएको भन्दै उक्त उद्योग सञ्चालनमा ल्याई वचतकर्ताहरूको रकम फिर्ता गर्न पनि सुझाव दिएका छन् । सहकारी ऐनको व्यवस्थाअनुसार सहकारीमार्फत किनेका सबै सम्पत्ति वचतकर्ताहरूको हुने भन्दै बैंक, सहकारी र सरकारी माफियाहरू मिलेर लिलामी गरी वचतकर्तारुहको रकम डुबाउन खोजिएको आरोपसमेत लगाएका छन् ।

सहकारीले देशभरका करिव दुईलाख वचतकर्ताको १० अर्ब रुपैयाँभन्दा धेरै रकम हिनामिना गरेको आरोपमा सहकारीका सञ्चालक एवं पूर्वअध्यक्ष केदारनाथ शर्मा र संस्थाको लगानी रहेको कम्पनी शिखर अगनाइजेसनकी अध्यक्ष गीता शर्मासहितका व्यक्तिहरू थुनामा छन् । गीता शर्मा सञ्चालक शर्माकी श्रीमती हुन् । वचतकर्ताहले आफूहरूको लगानी फिर्ता नहुने हो भने थप आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

उक्त सहकारीले बचतकर्ताबाट संकलित रकमबाट सातै प्रदेशमा ४३ वटा विभिन्न कम्पनीमार्फत लगानी गरेको छ । सहकारीले गोर्खा टी एण्ड कफी, गोर्खा टोब्याको, गोर्खा बेभरेज, उपकार ब्राण्डका घिउ, अचार, पानी, तुल्सी ब्राण्डका कम्पनी, चक्लेट कम्पनी, देशभर सञ्चालित २३ वटा गाडेन मार्ट लगायतमा लगानी गरेका छन् ।

यस्तै काठमाडौं, भक्तपुर, ललितपुर चितवन र मकवानपुर लगायत ठाउँमा दुई सय विघा भन्दा धेरै जग्गा खरिद गरेको छ । सरकारीको नाममा करिव ५ सय वटा सवारीसाधन पनि छन् । सरकारले गत भदौदेखि उक्त सहकारीलाई समस्याग्रस्तमा राखेसँगै हाल सबै कम्पनी प्रायः बन्द अवस्थामा छन् भने सहकारीको नामको सम्पती बैंकले रोक्का राखेको छ । वचतकर्ताहरूको रकम हिनामिना गरेको सहकारीका पूर्वअध्यक्ष एवं सञ्चालक केदारनाथ शर्माले भारतको राजस्थानमा नेपाः शिखर इण्डिया नामक कम्पनीमा लगानी गरेको आरोप पनि छ ।